काठमाडौं । टाटाले नेक्सन ईभीबाट विद्युतीय प्यासेन्जर कार उत्पादनको क्षेत्रमा हात हालेको थियो । यसअघि टिगोर ईभी बजारमा ल्याएको भएपनि त्यसलाई कम्पनीले केही भारतकै सरकारी संस्थाहरुमा विक्री गरेको थियो ।
टाटाले पन्च र एच फाइभ (भारतमा ह्यारीयर) लाई ईभीमा ल्याउने छ । टाटाले अहिले आफुसँग भएको लगभग सबै मोडललाई पेट्रोल, डिजेल, सिएनजी र ईभी गरी चार प्रकारमा ल्याउने योजना अनुसार ईभी मोडल ल्याउन लागेको हो ।
अहिले कम्पनीले आधिकारीक घोषणा नगरेपनि जनवरी २०२३ मा आयोजना हुन लागेको दिल्ली अटो एक्स्पो २०२३ मा टाटाले पन्च र एच फाईभको ईभी मोडल देखाउने अनुमान गरिएको छ । यसको टेष्ट ड्राइभ भर्सन तयार भएको मिडियाहरुले दावी गरेका छन् ।
टाटाले जीपट्रोन टेक्नोलोजीको प्रयोगबाट नेक्सन ईभी र टिगोर ईभी उत्पादन र विक्री वितरण गर्दै आएको छ । यही टेक्नोलोजीमा रहेर कम्पनीले टियागो ह्याचव्याकलाई ईभीमा ल्याउने घोषणा गरिसकेको छ । यही सेप्टेम्बर महिनामा नै टियागो ह्याचव्याक ईभीमा आउने छ ।
अहिले चल्तीका मोडल ईभी बनाइसकेपछि मात्रै टाटाले डेडिकेटेड ईभी प्लेटफर्ममा कर्भ र अभिन्या कन्सेप्टलाई प्रोडक्सन मोडलको रुपमा ल्याउने छ । टाटाले सफारीको ईभी मोडलको विषयमा भने अहिलेसम्म कुनै जानकारी दिएको छैन ।