काठमाडौं । टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले पछिल्लो इलेक्ट्रीक मोडल पन्च चाँडै नेपाल आउने संकेत दिएको छ । कम्पनीले पन्च ईभीको तस्विर प्रयोग गर्दै नयाँ डिलर मागेसँगै चाँडै पन्च ईभी नेपाल आउने अनुमान गरिएको हो ।
‘चाँडै पन्च ईभी नेपाल ल्याउने तयारी भएको हो । तर, ठ्याक्कै कुन मितिमा आइपुग्छ भन्ने एकिन भएको छैन’, सिप्रदी ट्रेडिङ स्रोतले भन्यो ।
पन्च ईभी भारतमा अघिल्लो महिना सार्वजनिक भएको थियो । भारतमा सार्वजनिक भएसँगै यसले निकै राम्रो प्रतिक्रिया पाईरहेको छ । यस्तोमा नेपाली बजारमा पनि यो बहु प्रतिक्षित इलेक्ट्रीक मोडल हो ।
टाटा नेक्सन ईभी र टियागो ईभीको बीचमा आउने एसयूभी डिजाइनको पन्च ईभी मूल्यको आधारमा बीवाइडी डल्फीन र नेटा भीको प्रतिस्पर्धी बन्ने अनुमान गर्न सकिन्छ । तर, यसको डिजाइन भने पृथक रहेको छ ।
चार स्थानमा माग्यो डिलर
सिप्रदीले विभिन्न ४ स्थानमा इलेक्ट्रीफाइङ डिलर माग गरेको छ । यसको मतलव कम्पनीले विद्युतीय गाडीको लागि मात्रै ध्यानमा राखेर डिलर माग गरेको बुझ्न सकिन्छ ।

कम्पनीले तनहुँको दमौली, सुर्खेत, दाङको घोराही र सप्तरीको राजविराजमा नयाँ इलेक्ट्रीफाइङ डिलर माग गरेको हो ।
यस्तो छ पन्च ईभी
टाटाले पन्च ईभीलाई दुई ब्याट्री अप्सनमा ल्याएको छ । जसमा २५ र ३५ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ ।
पन्च ईभीको स्ट्याण्डर्ड भेरियन्टमा ६० किलोवाटको मोटर दिइएको छ । यसले ८२ हर्स पावर र ११४ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । त्यस्तै, लङ रेन्ज भेरियन्टमा ९० किलोवाटको इलेक्ट्रीक मोटर दिइएको छ । यसले १२२ हर्स पावर र १९० न्युटन मिटर टर्क जेनेरेट गर्छ ।
पन्च ईभीमा १०.२४ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, क्लोज फ्रन्ट ग्रिल, १०.२४ इन्चकै टचस्क्रीन इन्फोटेन्टमेन्ट सिस्टम, इलेक्ट्रोनिक्स पार्किङ ब्रेक र ३६० डिग्री क्यामेरा दिइएको छ । यी फिचर पन्च पेट्रोलमा पाइँदैन ।
त्यसैगरी, पन्च ईभीलाई प्रिमियम बनाउन कम्पनीले लेदररेटेड भेन्टीलेटेड सिट, ६ वटा एयरब्याग, कनेक्टेड डे टाइम रनिङ लाइट, ब्लाइन्ड स्पट भ्यू मिरर, एयर प्यूरिफायर जस्ता फिचर दिएको छ ।


