काठमाडौं । सन् २०२३ टोयोटा मोटर्स कर्पोरेशनको लागि नयाँ रेकर्ड वर्ष बनेको छ । कम्पनीले एकै वर्षमा १ करोड १२ लाख ३३ हजार ०३९ यूनिट कार बिक्री गर्न सफल भएको हो ।
विश्वभर ईभीको ब्यापक चर्चा र बिक्री सुरु भएको समयमा टोयोटाको बिक्रीलाई निकै अर्थपूर्ण रुपमा लिनेहरु पनि छन् । टोयोटाले सन् २०२३ मा कति ईभी बिक्री गर्यो भन्ने जिज्ञासा धेरैको मनमा आउन सक्छ । कम्पनीले प्योर इलेक्ट्रीक भेहिकल १ लाख ४ हजार १८ यूनिट बिक्री गरेको हो ।
कम्पनीको प्योर ईभी बिक्री कुल बिक्रीको १ प्रतिशतभन्दा पनि कम हो । त्यसैगरी न्यू इनर्जी भेहिकलमा पर्ने हाइब्रिड कारको बिक्री भने रेकर्ड बनेको छ । कम्पनीले ३४ लाख २० हजार ४ यूनिट बिक्री गर्न सफल भएको हो ।
त्यस्तै माइल्ड हाइब्रिडको बिक्री २६ हजार ८५९ यूनिट, प्लगइन हाइब्रिडको बिक्री १ लाख २४ हजार ७५५ यूनिट र हाइड्रोजन फ्यूलसेल कारको बिक्री ३ हजार ९२१ यूनिट गरेको छ ।
कम्पनीले एक वर्षमा कुल इलेक्ट्रीफाइङ भेहिकलको बिक्री ३६ लाख ७९ हजार ५५७ यूनिट गरेको जनाएको छ । पेट्रोल र हाइब्रिड कार बिक्रीमा टोयोटाले विश्व बजारलाई नै नेतृत्व गरिरहेको छ ।


