काठमाडौं । टाटा मोटर्सले टियागो ईभी परिमार्जन गरेर ल्याएको छ । कम्पनीले सन् २०२५ मोडल टियागो ईभी नयाँ डिजाइन र फिचरहरु थप गरेर ल्याएको हो ।
टियागो ईभीको फ्रन्टमा नयाँ डिजाइनको ग्रिल तथा एलइडी हेडल्याम्प सेट थपिएको छ । कम्पनीले नयाँ डिजाइनको १४ इन्चको ह्वील र साइड ढोकामा ईभीको ब्याजिङ दिएको हो । कम्पनीले सन् २०२५ मोडलमा पहिलेको ३ सहित थप सुपरनोवा कपर, चिली लाइम तथा एरिजोना व्लु कलर थप गरेर ल्याएको हो ।
यसको इन्टेरियरमा पनि डुअल टोन कलर थिम भएको छ । सेन्टर कन्सोलमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सहितको १०.२५ इन्चको फ्लोटिङ टचस्कृन इन्फोटेन्मेन्ट थपिएको छ । नयाँ टियागो ईभीमा टाटा पन्चमा जस्तै इलुमिनेटेड लोगो सहितको टु स्पोक स्टेरिङ ह्वील दिएको छ ।
टाटाले नयाँ टियागो ईभीमा केही फिचर समेत थप गरेको जनाएको छ । अब टियागो ईभीमा इलेक्ट्रोनिक स्टेबीलीटी कन्ट्रोल, अपडेटेड डिस्प्ले सहितको हाइ डेफिनेसन रियर पार्किङ क्यामरा र सार्क फिन एन्टेना दिएको हो ।
यसमा रोटरी डायल, आईटीपीएमएस, फलोमी होम हेडल्याम्प, कुल्ड ग्लोबबक्स, अटोमेटिक वाइपर, पुस बटम स्टार्ट÷स्टप, क्रूज कन्ट्रोललाई निरन्तरता दिइएको छ । टाटाले टियागो ईभीको मोटर र ब्याट्री पावरमा भने कुनै परिवर्तन गरेको छैन ।
टाटा मोटर्सले टियागो र टिगोर पेट्रोल समेत अपडेट गरेको छ । दुबै कारहरु अब थप केही फिचरसहित नयाँ कलरमा समेत आउने भएका छन् । टियागो ईभीको अपडेटेड भर्सन चाँडै नेपाल आउने अनुमान गर्न सकिन्छ । किनभने टियागो नेपालमा सर्वाधिक सफल मध्येको एक ह्याचव्याक कार हो ।