काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत अवरुद्ध तातोपानी सडक शनिबारसम्ममा खुलाउने प्रयास भइरहेको छ ।
कोदारीमा खसेको पहिरोका कारण पछिल्लो पटक भदौ १६ गतेदेखि अवरुद्ध उक्त सडक भोलिसम्म ट्रयाक खोलीसक्ने लक्ष्य राखिएको हो ।
उक्त स्थानको पहिरो हटाउन सडक विभागबाट ३ वटा एक्साभेटर, १ वटा लोडरले काम गरिरहेको सडक विभागले जनाएको छ ।
साथै, विभिन्न समस्याका बाबजूद सडक डिभिजन चरिकोटबाट हाल पहिरो पूरै प्लास्टिकले ढाकेर पहिरोभित्र रहेको पानी निकाल्न होरिजेन्टल ड्रिलिङको काम भइरहेको पहिरोको एक खण्डमा ग्याबियनको टेवा पर्खाल लगाउन सुरू गरी बस्तीलाई थप क्षति नहुने किसिमले ट्रयाक खोल्ने कार्य सुरू भएको छ ।
भदौ २१ गतेसम्म ट्रयाक खाल्ने लक्ष्य राखिएको विभागका महानिर्देशकको सचिवालयले जनाएको छ ।
कोदारीमा हरेक दिन भारी वर्षा हुने, निरन्तर ढुंगा सहितको लेदो र पहिरो बगिरहने, पहिरो माथि केही घरहरूमा क्षति भई बस्ती नै जोखिममा परेको कारण स्थानीय बासिन्दाको अवरोध लगायतका कारणहरूले गर्दा अस्थायी रुपमा सडक सुचारु गर्न समस्या परिरहेको छ ।
कोदारी राजमार्ग यस वर्ष दर्जनौं पटक अवरुद्ध भएको छ । १८ दिनपछि भदौ ४ गते संचालनमा ल्याइएको सडक ९ गते पुनः बन्द भएको थियो । त्यसपछि भदौ १५ गते खुलाइएको सडक १६ गतेदेखि पुनः अवरुद्ध भएको थियो ।
सडक अवरुद्ध हुँदा दशैं, तिहार चाडपर्वका लागि ल्याइएको सामान, सवारी साधन लगायत आयात रोकिएको छ ।

