काठमाडौं । दशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेलाई सबैभन्दा धेरै चिन्ता हुने विषय हो बसको टिकट र सडक । आफ्नै सवारी हुनेलाई गाडीको चिन्ता नभए पनि सडकको अवस्थाले सधैं झस्काउँछ ।
हाल काठमाडौंबाट बाहिरिने सूर्यविनायक-धुलिखेल, नागढुंगा-मुग्लिन, बीपी राजमार्ग, पृथ्वी राजमार्ग, पूर्व-पश्चिम राजमार्ग लगायत मुख्य सडक विस्तार भइरहेका छन् । जसकारण सडकमा जताततै खाल्डाखुल्डी छन् । पानी पर्दा हिलाम्मे र घामलाग्दा धुलाम्मे हुन्छ ।
बिग्रिएको सडकमा यात्रा गर्नुपर्ने नेपालीको नियति जस्तै बनेको छ । यात्रुलाई सास्ती दिने सडक मध्ये एक हो पश्चिम नेपालको जाने लाइफलाइन नारायणगढ-बुटवल सडक । यो सडक विस्तार थालिएको ७ वर्ष भयो । तर, अझै पूरा हुन सकेको छैन । विगत ६ वर्षदेखि उक्त सडक हुँदा यात्रा गर्नेले हैरानी व्यहोर्दै आएका छन् ।
तर, यस वर्ष भने केही सहज भएको छ । नारायणगढ-बुटवल करिब ११४ किमीमध्ये हाल १०० किमी खण्डमा कालोपत्र सडक हुँदै यात्रा गर्न सकिन्छ । दाउन्ने र विभिन्न पुलको एप्रोच सडक गरी करिब १३ किमी मात्र कालोपत्र छैन । ती खण्डमा पनि सहज यात्राका लागि ग्राभेल गरिएको छ । यद्यपि, पानी पर्दा भने हिलोका कारण निकै सकस व्यहोर्नुपर्छ ।
११३.५३ किलोमिटर सडकलाई दुई खण्डमा ठेक्का लगाइएको छ । नारायणगढ-दाउन्ने (पूर्वीखण्ड) ६५ किमी र दाउन्ने-बुटवल (पश्चिम खण्ड) ४८.५ किमी विभाजन गरिएको छ । हालसम्म यस सडकको समग्मा ७०.५ प्रतिशत काम सकिएको छ । अझै करिब ३० प्रतिशत काम बाँकी छ ।
दुवै खण्डको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ । यसको लागत १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ रहेको छ । निर्माण सम्पन्नपछि पनि ५ वर्षसम्म ठेकेदार कम्पनीले नै सडक मर्मत सम्भार गर्नुपर्ने सम्झौता छ ।
यस्तो छ प्रगति
नारायणगढ-बुटवल सडक योजना (पूर्वीखण्ड)का सूचना अधिकारी शिव खनालका अनुसार यस खण्डको भौतिक प्रगति ७०.१२ प्रतिशत पुगेको छ ।

कुल ६५ किमी सडकमध्ये ५९ किलोमिटर खण्डमा कालोपत्र सम्पन्न भएको छ । कुल १३० किमी (दुईलेन) सडक कालोपत्र गर्नुपर्नेमा ११८ किमी पूरा भएको छ । ३२ किमी चारलेनमै कालोपत्र सम्पन्न भएको उनले बताए ।
‘पूर्वीखण्डको ६५ किमीमध्ये अहिले ५९ किमीमा कालोपत्र सडकमा गाडी गुडाउन मिल्छ । दाउन्ने क्षत्रेमा ४ किमी र सबै पुलको मुखमुखमा गरी करिब २ किमी मात्र कालोपत्र हुन बाँकी छ,’ उनले मरोअटोसँग भने ।
दाउन्ने क्षेत्रको ४ किमीमध्ये १ किमीमा ढलान भइसककेको उनले बताए । यस क्षेत्रको भित्ता कटान भइसकेकाले बाँकी काम पनि चाँडै सम्पन्न हुने उनको भनाइ छ ।
उनका अनुसार पूर्वीखण्डका ३४ वटा पुलमध्ये ३१ वटा निर्माण सम्पन्न भइसकेको छन् । तीमध्ये २८ वटा संचालनमा आएको उनले बताए । अब चोरमारा, अरुणखोला र जयपुरीमा मात्र पुल सम्पन्न हुन बाँकी छ । चोरमाराको पुल मंसिरसम्म सम्पन्न हुने उनको भनाइ छ । त्यस्तै, यसखण्डमा निर्माण गर्नुपर्ने २११ वटा कल्भर्टमध्ये २०८ वटा सम्पन्न भएको उनले बताए ।
४८.५ किमी लामो पश्चिम खण्डको हालसम्म ७१.१४ प्रतिशत काम सकिएको आयोजना प्रमुख शशांक मिश्रले जानकारी दिए । उनका अनुसार दुवैतर्फगरी कुल ९७ किमी (दुईलेन) सडक कालोपत्र गर्नुपर्नेमा हालसम्म ६८ किमी सम्पन्न भएको छ । दायाँतर्फ ३० र बाँयाँतर्फ ३८ किमी कालोपत्र गरिएको छ । २७ किमी क्षेत्रमा चार लेनमै कालोपत्र पूरा भएको छ । अब दाउन्ने क्षेत्र र केही स्थानमा पुलको अप्रोच सडकमा मात्र कालोपत्र गर्न बाँकी रहेको उनले बताए ।
‘अहिले दाउन्ने बाहेक अधिकांश क्षेत्रमा कालोपत्र सडकबाटै यात्रा गर्न सकिन्छ । बर्दघाट–बुटवल खण्डको केही ठाउँमा अप्रोच सडक मात्र कालोपत्र हुन बाँकी छ । दाउन्नेमा पनि ढलान, कल्भर्ट, नाला निर्माण लगायत पनि धमाधम काम भइरहेको छ,’ उनले भने ।
पश्चिमखण्डका २५६ वटा कल्भर्टमध्ये २४२ वटा निर्माण सम्पन्न भइसकेको र ८ वटा निर्माणाधीन अवस्थामा रहेको आयोजनाका इन्जिनीयर शशि श्रेष्ठले जानकारी दिए । अब ६ वटा कल्भर्टको मात्रै काम सुरू हुन बाँकी रहेको उनले बताए ।

त्यस्तै, यसखण्डका ९ वटा ठूला पुलमध्ये सबै निर्माण सम्पन्न भइ ८ वटा संचालनमा समेत आइसकेको उनले बताए । ३८ वटा साना पुलमध्ये ३५ वटा बनिसकेको छ । अब दाउन्ने क्षेत्रमा २ वटा र तिसियनमा एउटा पुल मात्र बनाउन बाँकी छ ।
उनले दाउन्ने क्षेत्रमा तीव्र गतिमा काम भइरहेको बताए । दाउन्नेको ९.९ किमी सडकमध्ये ४.५ किमी कालोपत्र र ५ किमी ढलान गरिने छ । सोमध्ये हालसम्म २.५ किमी कालोपत्र र १.१ किमी ढलान गरिसकिएको उनले बताए । त्यस्तै, बाँयातर्फ ७.५ र दायाँ तर्फ १ किमी वाल लगाउने काम सकिएको उनले बताए । दाउन्नेमा ६८ वटा कल्भर्ट निर्माण गर्नुपर्नेमा ६३ वटा सम्पन्न भइसकेको उनले बताए । ‘पहिरो नियन्त्रण र नाला निर्माण पनि सँगसँगै भइरहेको छ । अब करिब ३०० मिटर भित्तो कटान र ४५ वटा पोल सार्न बाँकी छ,’ उनले भने । पश्चिम खण्डमा १३ वटा एनिमल क्रसिङ पनि निर्माण सम्पन्न भइसकेको उनको भनाइ छ ।
‘कामको गति बढेको छ, यस वर्ष सकिन्छ’
३ पटक म्याद थप्दा पनि नसकिएको आयोजनाको काम यस वर्ष भने सकिने आशा गरिएको छ । पूर्वीखण्डका सूचना अधिकारी खनाल चालु आव भित्रै आयोजनाको काम सकिने बताउँछन् । ‘विगतमा ठेकेदारले वर्षामा काम गर्दैन्थ्यो । यसवर्ष वर्षामा समेत गरिरहेको छ । अब मुख्य रूपमा कालोपत्र, ढलान र केही पुल निर्माण गर्न मात्र बाँकी छ । यही गतिमा गरे समय अगावै सक्ने देखिन्छ,’ उनले भने । हिउँद लागेसँगै कामले झन् तीव्रता पाउने उनले बताए ।
पश्चिम खण्डका प्रमुख मिश्रले निर्माण कम्पनीले आगामी वैशाख (जुन) भित्र सबै काम सक्ने प्रतिबद्धता जनाएको बताए । विगतमा सधैं वर्षाको वाहनामा ९ महिनासम्म काम रोकेको ठेकेदारले यस निरन्तर काम गरिरहेको उनले बताए ।

‘ठेकेदारले जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्नेगरी काम गरिरहेको । विगतमा मनसुनमा रोक्ने गरेकोमा यसवर्ष लगातार फिल्डमै छन् । दाउन्ने बाहेक अन्यत्र धेरै काम छैन । २०२६ जुनसम्म सबै काम सकिन्छ । मौसम बाहेक अन्य अवरोध छैन । ,’ उनले भने । हाल दैनिक करिब ३५० जनाले काम गरिरहेका उनको भनाइ छ ।
ढिलासुस्ती गर्ने ठेकेदारलाई पुरस्कार
साढे ३ वर्षमा सक्नुपर्ने काम ७ वर्षमा सम्पन्न नगर्दा पनि सरकारले ठेकेदारलाई उल्टो पुरस्कार गर्दै आएको छ । अर्थात् ठेक्का तोडेर जरिवाना गर्नुपर्नेमा हरेक वर्ष म्याद थप्दै आएको छ ।
२०७५ माघमा ४२ महिना भित्र काम सक्ने गरी सुरू गरिएको नारायणघाट–बुटवल सडक २०७९ साउन २२ भित्र सक्नुपथ्र्यो । ठेक्का अवधि भित्र आधा पनि काम नसकिएपछि सरकारले पहिलो पटक १ वर्ष म्याद थपेको थियो । त्यसपछि पनि काम नसकिएपछि सरकारले हरेक वर्ष साउनमा १÷१ वर्ष म्याद थप्दै आएको छ । चौथोपटक थपिएको म्याद २०८३ साउन ७ गतेसम्म रहेको छ ।
विदेशी ऋण सहयोगमा निर्माण भइरहेको र ठेकेदार समेत विदेशी भएकाले ठेक्का तोडी नयाँ प्रक्रिया थाल्न धेरै समय लाग्ने भएकाले म्याद थप्दै आएको सरकारी अधिकारीहरू बताउँछन् ।

