काठमाडौं । ‘थाई लायन’ले बैंकक-काठमाडौं-बैंककको प्रमोशनल फेयर ७ हजार ९५० थाइभाट अर्थात् २६ हजार १५५ रुपैयाँ राखेको छ जसमा २० केजीसम्मको ब्यागेज फ्रिमा दिने भनेको छ ।
थाइल्यान्डको बजेट एयरलायन्स ‘थाई लायन’ले हिजो अगस्त १ बाट काठमाडौं थाइल्यान्डको उडान सुरु गरेको छ ।
हप्ताको ३ दिन साेमबार, बुधबार र शुक्रबार फ्लाईट हुने गरि सुरु भएको यो हवाई जहाज काडमाडौंमा दिनको २ बजे ल्याण्ड हुनेछ भने काठमाडाैं बाट ३ बजे उड्ने छ ।
‘थाई लायन’सँगै नेपाल र थाइल्यान्डबीचको हवाइ सेवामा अब ३ वटा एयरलायन्स भएको छ । यसअघि यो रुटमा नेपालको आफ्नै नेपाल एयरलायन्स तथा थाईल्याण्डको थाई एयरवेजले नियमित उडान गरिरहेका छन् ।
यस रुटमा नेपाल एयरलायन्स तथा थाई एयरवेज दुवै फुलफ्लेज एयरलायन्स हुन् भने थाई लायन मात्र बजेट एयरलायन्स हो ।
फुलफ्लेज भन्दा बजेट एयरलायन्सको भाडा दर निकै सस्तो हुने गरेको छ । नेपालमा मलेसियाको एयर एसिया, भारतको इन्डिगो, दुबईको फ्लाई दुवई तथा यूनाईटेड अरब इमिरेट्सको एयर अरेबिया लोकस्ट बजेट एयरलायन्स हुन् ।
थाई लायनले बैंककको सुवर्णभूमी एयरपोर्टबाट भने उडान गर्न पाउदैन । यसले बैंककको बाहिरी क्षेत्रमा रहेको डनमियुङ एयरपोर्टबाट उडान भर्ने छ । यो बैंककको दोस्रो एयरपोर्ट हो जहाँबाट बजेट एयरलायन्सहरुको फ्लाईट हुने गर्छ ।
सन् २०१३ को अन्त्यमा पहिलो उडान सुरु गरेको यो एयरलायन्सले हाल ३२ वटा जहाजबाट विश्वका विभिन्न सहरहरुमा उडान गरिरहेको छ । यो एयरलायन्सको फ्रिटमा बोईङ कम्पनी का ७३७ मोडलहरु र एयरबस कम्पनीका ३३० मोडलका जहाजहरु रहेका छन् ।

