विश्वका शीर्ष १० अटो ब्राण्डमा तीन चिनियाँ, सन् २०२५ मा कुनले कति बेचे ?

काठमाडौं । सन् २०२५ मा सर्वाधिक सवारी साधन बिक्री गर्ने विश्वका शीर्ष १० अटो ब्राण्डमा तीन चिनियाँ ब्राण्ड परेका छन् । तीन चिनियाँ ब्राण्ड बीवाइडी, जिली होल्डिङ र एसएआइसी टप टेन भित्र परेका हुन्।

युरोपियन अटोमोबाइल ब्राण्ड स्टेलान्टिसले फेब्रुअरी २६ मा आफ्नो विवरण सार्वजनिक गरेसँगै शीर्ष १० ब्राण्डको सूची सार्वजनिक भएको हो ।

सन् २०२५ मा पापानी अटो ब्राण्ड टोयोटा शीर्ष स्थानमा रहेको छ । टोयोटाले यो वर्ष कुल १ करोड १३ लाख २० हजार युनिट सवारी बिक्री गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ४.६५ प्रतिशत धेरै हो । टोयोटाले टोयोटा, लेक्सस, हाइनो, दाइहात्सु लगायत ब्राण्डका सवारी उत्पादन गर्छ ।

त्यस्तै, दोस्रो स्थानमा जर्मन अटो ब्राण्ड फक्सवागेन रहेको छ । यसले सन् २०२५ मा कुल ८९ लाख ८० हजार युनिट सवारी बेचेको छ । अघिल्लो वर्षको तुलनामा फक्सवागेनको बिक्री ०.५१ प्रतिशतले घटेको छ । फक्सवागेन अन्तर्गत पोर्श्चे, अउडी, फक्सवागेन, स्कोडा लगायत ब्राण्ड पर्छन ।

दक्षिण कोरियाली कम्पनी हुन्डाई मोटर्स तेस्रो स्थानमा रहेको छ । हुन्डाईले सन् २०२५ मा कुल ७२ लाख ७० हजार युनिट सवारी बिक्री गरेको छ । हुन्डाईको व्यापार अघिल्लो वर्षको तुलनामा ०.६० प्रतिशतले बढेको छ । हुन्डाई मोटर्स अन्तर्गत हुन्डाई, किया, जेनेसिस मुख्य बण्ड हुन् ।

अघिल्लो वर्षकोभन्दा ३.०३ प्रतिशतले व्यापार बढाएको अमेरिकी ब्राण्ड जनरल मोटर्स (जीएम) चौथो स्थानमा छ । यसले सन् २०२५ मा कुल ६१ लाख ८० हजार युनिट सवारी बेचेको ।

युरोपियन ब्राण्ड स्टेलान्टिस पाँचौं स्थानमा छ । यसको व्यापार अघिल्लो वर्षको तुलनामा १.२७ प्रतिशतले बढेर ५४ लाख ८० हजार युनिट पुगेको छ । स्टेलान्टिस अन्तर्गत प्युजो, जीप, फेट, सिट्रोन लगायत मुख्य ब्राण्ड छन् ।

विश्वकै ठूलो न्यू इनर्जी भेहिकल उत्पादक चिनियाँ ब्राण्ड एक स्थान फड्को मार्दै छैटौं स्थानमा उक्लिएको छ । सन् २०२५ मा बीवाइडीले कुल ४६ लाख सवारी बेचेको छ । अघिल्लो वर्षको तुलनामा बीवाइडीको बिक्री ७.७२ प्रतिशतले बढेको हो । बीवाइडी अन्तर्गत बीवाइडी, डेन्जा, याङवाङ, फाङ चेङ बाओ ब्राण्ड पर्छन् ।

सातौं स्थानमा चिनियाँ ब्राण्ड एसएआइसी यथावत रहेको छ । एसएआइसीले २०२५ मा कुल ४५ लाख १० हजार युनिट सवारी बेच्न सफल भएको छ । अघिल्लो वर्षको तुलनामा एसएआइसीको बिक्री १२.३३ प्रतिशतले बढेको छ ।

दुई स्थान तल झर्दै अमेरिकी ब्राण्ड फोर्ड आठौं स्थानमा रहेको छ । अघिल्लो वर्षको तुलनामा १.६८ प्रतिशत व्यापार घटेको फोर्डले २०२५ मा कुल ४४ लाख युनिट सवारी बिक्री गरेको छ ।

दुई स्थानको फड्को मार्दै चिनियाँ ब्राण्ड जिली होल्डिङ पहिलो पटक शीर्ष १० मा परेको छ । नवौं स्थानमा रहेको जिलीले ४१ लाख २० हजार युनिट सवारी बेचेको छ । २०२४ को तुलनामा जिलीको बिक्री २६.०३ प्रतिशतले बढेको हो । जिली होल्डिङ अन्तर्गत जिली, भोल्भो, जीकर, लिंक एण्ड को लगायत ब्राण्ड रहेका छन् ।

एक स्थान तल झर्दै जापानी ब्राण्ड १० औं स्थानमा पुगेको छ । होण्डाले सन् २०२५ मा ३५ लाख २० हजार युनिट सवारी बेचेको छ । यो अघिल्लो वर्षको तुलनामा ७.५३ प्रतिशत कम हो ।

जापानी ब्राण्ड निसान भने शीर्ष १० ब्राण्डबाट बाहिरिएको छ ।


Back_to_top