काठमाडौं । नेपालकै पहिलो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग संचालनका लागि प्राविधिक मूल्यांकनबाट ७ कम्पनी छनोट भएका छन् ।
आयोजनाले गत कात्तिक १६ गते आह्वान गरेको टेन्डरमा ६ चिनियाँ, ३ भारतीय र टर्कीको एउटा गरी १० कम्पनीले आवेदन दिएका थिए । ती मध्ये प्राविधिक मूल्यांकनमा ७ वटा मात्रै पास भएका हुन् । आवेद दिएका ३ कम्पनीले मापदण्ड पूरा गर्न नसक्दा बाहिरिएका छन् ।
आयोजनाका इन्जिनियर सञ्जय पन्थीले सुरुङमार्ग संचालनका लागि प्राविधिक मूल्यांकनबाट ७ कम्पनी छनोट भएको जानकारी
उनका अनुसार काष्ठमाण्डप/गान्सु हेङटोङ जेभी, एसएक्सआरबी-ब्राइट बुल जेभी, जेटीसीजी-डाँफे जेभी, ईएमएसएल/पशुपति शिवजी कन्स्ट्रक्सन जेभी, समानान्तर/चाइना फ्स्ट हाइवे इन्जिनियरिङ जेभी, वेदांशी इन्फ्रास्क्चर/ रानकेन रेलवे कन्स्ट्रक्सन ग्रुप र चोङक्विङ युक्सिन रोड एण्ड ब्रिज्ड डेभलपमेन्ट/एआरटी कन्स्ट्रक्सन छनोट भएका छन् ।

सेग्मेन्टल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट-स्वच्छन्द निर्माण सेवा जेभी, बाबरी कन्स्ट्रक्सन/टनेल टेक सोलुसन जेभी र केएसएनएस-अल्टिंनको-बीपीसीएल जेभी प्राविधिक मूल्यांकनमा पास हुन नसकको उनले बताए । आवेदक सबै विदेशी कम्पनीले नेपाली कम्पनीसँग ज्वाइन्ट भेन्चर गरेर आवेदन दिएका हुन् ।
प्राविधिक मूल्यांकनबाट छनोट भएका ७ कम्पनीमध्ये सबैभन्दा कम आर्थिक प्रस्ताव गर्ने कम्पनी छनोट हुनेछ । आर्थिक प्रस्ताव अबको १५ दिनमा (चैत १ गते) खोलिने इन्जिनीयर पन्थीले जानकारी दिए ।
‘सुरुङमार्ग संचालनका लागि गत कात्तिकमा ग्लोबल टेन्डर आह्वान गरेका थियौं । जसमा १० कम्पनीले आवेदन दिएका थिए । तीमध्ये प्राविधिक मूल्यांकनबाट ७ कम्पनी छनोट भएका छन्,’ उनले मेरोअटोसँग भने, ‘अब १५ दिनभित्र आर्थिक प्रस्ताव खोलिन्छ । जसले कम रकम प्रस्ताव गरेको छ, उही छनोट हुन्छ ।’ सुरुङमार्ग संचालन गर्ने कम्पनीको टुंगो चैतको पहिलाे सातासम्म लागिसक्ने उनकाे भनाइ छ ।
छनोट हुने कम्पनीले ५ वर्षसम्म सुरुङमार्ग संचालन, रेखदेख, मर्मत/सम्भार, टोल संकलन लगायत काम गर्नुपर्नेछ ।

कम्पनी छनोट भएपछि जनशक्ति व्यवस्थापन र तालिम सुरू हुनेछ । ती सबै प्रक्रिया सक्न कम्तीमा पनि दुई महिना लाग्ने उनले बताए । त्यसपछि मात्रै औपचारिक रूपमा सुरुङ संचालनमा आउने छ ।
‘कम्पनी छनोट भएपछि जनशक्ति व्यवस्थान सुरू हुन्छ । १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ । तिनीहरूलाई आवश्यक तालिम दिएर तयार बनाएपछि मात्रै सुरुङ संचालन गर्न सकिन्छ । यी सबै काम सक्न कम्तीमा पनि २ महिना लाग्ने देखिन्छ,’ उनले भने ।
अंग्रेजी नयाँ वर्ष (गत पुस १७ )देखि सुरुङ संचालनमा ल्याउने भनिए पनि कम्पनी छनोट हुन नसक्दा ढिलाइ भएको थियाे छ । सरकारले आगामी वैशाखदेखि संचालनमा ल्याउने लक्ष्य राखेको छ । तर, जनशक्ति तयार गर्न समय लाग्ने हुँदा नयाँ वर्षमा सफ्ट ओपनिङ मात्र गर्न सक्ने उनको भनाइ छ ।
१५० जनशक्ति चाहिने
नागढुंगा सुरुङमार्ग संचालनका लागि १५० जनशक्ति आवश्यक पर्ने छन् । सुरुङमार्ग २४ सै घण्टा संचालन गर्नुपर्ने हुनाले दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्कालै आपत्कालीन सेवा आवश्यक हुन्छ । सेवा प्रदायकले शिफ्ट प्रणालीमा कर्मचारी खटाउने, आपत्कालीन टोली स्थापना गर्ने हुनाले समयमै सेवा दिने व्यवस्था गर्नुपर्छ । यसका लागि १५० जनाको दरबन्दी प्रस्ताव गरिएको हो ।

सुरुङ संचालन तथा मर्मत प्रमुखको नेतृत्वमा कर्मचारी रहने छन् । सुरक्षा व्यवस्थापन युनिटमा सबैभन्दा बढी ६४ जना कर्मचारी रहने व्यवस्था गरिएको छ । त्यसपछि टोल उठाउन ५४ जना कर्मचारी रहनेछन् । ट्राफिक सुविधा अनुगमन तथा नियन्त्रणका लागि १४ जना, सिभिल संरचना तथा अन्य संरचना मर्मतका लागि ८/८ जना कर्मचारी रहने व्यवस्था गरिएको छ ।
सुरुङमार्ग संचालनका लागि वार्षिक करिब ३० देखि ३५ करोड खर्च हुने अनुमान छ । उक्त रकम सरकारले नै व्यहोर्ने छ । सुरुङमार्गमा उठेको टोल सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ ।
९८ प्रतिशत काम सकियो
नेपालकै पहिलो यस सुरुङमार्ग मुख्य संरचना निर्माण ६ महिना अघि नै सम्पन्न भइएसको छ । समग्रमा आयोजनाको ९८ प्रतिशत बढी काम सकिएको छ । अब पश्चिम पोर्टल (धादिङतर्फ पहिरो नियन्त्रण र टोल प्लाजा निर्माणको काम मात्र बाँकी छ ।
अहिले धमाधम पहिरो नियन्त्रणको काम भइरहेको इन्जिनीयर पन्थीले बताए । सुरुङ मार्गमार्फत सवारी साधन चलाउन सक्ने अवस्था भए पनि दक्ष जनशक्ति एवम् सुरक्षाका कारण संचालनमा आउन सकिरहेको छैन । जनशक्ति व्यवस्थापन गरी तालिम सम्पन्न हुँदासम्म उक्त काम पनि सकिने उनको भनाइ छ ।
मुख्य सुरुङ मार्गको लम्बाइ २.७ किलोमिटर र आपत्कालीनको २.६ किलोमिटर रहेको छ ।
कति लाग्छ शुल्क ?
सरकारले सुरुङमार्गबाट गुड्ने सवारी साधनका लागि गत साउन २६ गते वर्ग अनुसार उपभोग दस्तुर (टोल) तोकेको थियो । सुरुङमार्ग हुँदै काठमाडौं आउँदा कार तथा भ्यानहरूले ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्छ ।

त्यस्तै, मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ, बस तथा ट्रकले काठमाडौं आउँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । त्यसैगरी, हेभी सवारी साधनले काठमाडौं आउँदा ६०० र बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ ।
सुरुङमा कस्ता गाडी गुड्न पाउँछन् ?
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग यातायात संचालन सम्बन्धी निर्देशिका, २०८१ अनुसार सुरुङमार्गमा सबैखाले सवारी साधन गुडाउन पाइँदैन ।
निर्देशिका अनुसार सुरुङ भित्र दुईपाँग्रे (मोटरसाइकल/स्कुटर), तीनपाँग्रे (ट्याम्पु, अटोरिक्सा), डिजेल, पेट्रोल लगायत पेट्रेलियम पद्धार्थ बोकेका ट्यांकरलाई प्रवेश निषेध गरिएको छ । त्यस्तै, सुरक्षा निकायका बाहेक हातहतियार बोकेका, विस्फोटक पदार्थ बोकेका, दुर्गन्धित गन्हाउने, कुहिएका सवारी साधन बोकेका, नन मोटराइज्ड सवारी साधन पनि सुरुङ भित्र गुडाउन पाइँदैन ।
सुरुङमार्ग भित्र १८ मिटर लम्बाइ, २.५ मिटर चौडाइ र ४.२५ मिटर उचाइभन्दा ठूला सवारीसाधन चलाउन नपाउने निर्देशिकामा उल्लेख छ । सुरुङमार्गमा गुड्ने सवारी साधनको अधिकतम गति प्रतिघण्टा ६० किलोमिटर तोकिएको छ ।

