जेन-जी आन्दोलनपछि मोटर बीमा गराउने बढे, ७ महिनामै खर्चिए सवा ९ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ७ महिना (साउन-माघ)मा मोटर बीमा गराउनेको संख्या बढेको छ । गत आवको ७ महिनाको तुलनामा चालु आवको सोही अवधिमा मोटर बीमा गराउनेको संख्या ३० हजार १८१ वटाले बढेको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको माघ मसान्तसम्म कुल ९ लाख ४५ हजार ६८३ वटा मोटर बीमालेख (पोलिसी) जारी भएका छन् । समीक्षा अवधिमा मोटर बीमा गराउनेको संख्या ३.२९ प्रतिशतले बढेको हो । गत वर्ष माघसम्म कुल ९ लाख १५ हजार ५०२ वटा मोटर बीमा पोलिसी जारी भएको थियो ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि मोटर बीमा गराउनेको संख्या ह्वात्तै बढेको तथ्यांकले देखाउँछ । आन्दोलनका क्रममा साढे १२ हजार सार्वजनिक र निजी सवारी जलेर खरानी भएका थिए ।

तर, सबै सवारीको बीमा नहुँदा २ हजार ३०० वटाले मात्र क्षतिपूर्ति दाबी गरेका छन् । आन्दोलनका कारण ठूलो क्षति व्यहोर्नुपरेपछि सवारीधनी केही सचेत भई बीमा गराउन थालेको तथ्यांकले देखाउँछ । साथै, चालु आवमा नयाँ सवारी बिक्री बढ्दा पनि मोटर बीमालेख संख्या बढेको हो ।

बीमा कम्पनीहरूले कम्प्रिहेन्सिभ र थर्ड पार्टी मोटर बीमा गर्दै आएका छन् । कुल संख्यामध्ये कति कम्प्रिहेन्सिभ र कति थर्ड पार्टी भन्ने प्राधिकरणले खुलाएको छैन । यद्यपि, दुईतिहाई बढी हिस्सा थर्ड पार्टीको हुने बीमकहरू बताउँछन् ।

७ महिनामै खर्चिए सवा ९ अर्ब

चालु आवमा मोटर बीमा पोलिसीको संख्या बढेसँगै प्रिमियम रकम पनि बढेको छ । चालु आवको ७ महिनामै सवारीधनीले आफ्नो साधन बीमा गर्नका लागि करिब सवा ९ अर्ब रुपैयाँ खचिएका छन् ।

माघ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले मोटर बीमा बापत ९ अर्ब १५ करोड ९९ लाख ७६ हजार रुपैयाँ प्रिमियिम संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १ अर्ब ४८ करोड रुपैयाँ धेरै हो । गत वर्ष ७ महिनामा मोटर बीमाबाट ७ अर्ब ६८ करोड ७७ लाख २९ हजार रुपैयाँ प्रिमियम संकलन भएको थियो ।

सवारीधनीले आफ्नो सवारी साधनको सुरक्षणका लागि मोटर बीमा गर्छन् । सवारी साधन चलाउने क्रममा हुने सडक दुर्घटना, चोरी, हुलदंगा, बाढी, पहिरो, भूकम्प लगायत प्राकृतिक प्रकोपबाट हुने क्षतिबाट बच्न मोटर बीमा गरिन्छ ।

हाल कम्पनीहरूले थर्ड पार्टी र कम्प्रिहेन्सिभ मोटर बीमा गर्छन् । सवारी साधनले तेस्रो पक्षलाई पुर्याउने हानी नोक्सानीबाट बच्न थर्ड पार्टी पनि मोटर बीमा गर्छन् । यो सवारी नवीकरण गर्नका लागि अनिवार्य छ ।

कम्प्रिहेन्सिभ मोटर बीमा भने स्वेच्छिक छ । सवारीधनीले आफ्नो इच्छा अनुसार गराउन सक्छन् । यो बीमा गर्दा सवारीमा साधनमा क्षति पुने क्षतिपूर्ति पाइन्छ । यद्यपि, किस्ताबन्दीमा किन्ने सवारी साधनमा भने कम्प्रिहेन्सिभ बीमा अनिवार्य छ ।


Back_to_top