३५० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउँदै ट्रायम्फ

काठमाडौं । ट्रायम्फ इन्डियाले ३५० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउने भएको छ ।

भारतमा ट्रायम्फ मोटरसाइकलको आधिकारिक उत्पादक कम्पनी बजाज अटोले ३५० सीसी सेग्मेन्टमा नयाँ मोडल उत्पादन गर्ने घोषणा गरेको हो ।

यसअघि कम्पनीले ३५० सीसी सेग्मेन्टको नयाँ मोटरसाइकलको चर्चा मात्रै चलेको थियो । अहिले भने कम्पनीले आधिकारिक रूपमै नयाँ मोटरसाइकल ल्याउने जानकारी दिएको हो ।

हाल भारतीय बजारमा ट्रायम्फको ४०० सीसी भन्दा माथिका मात्रै मोडलहरू उपलब्ध छन् । ट्रायम्फको ३५० सीसीको नयाँ मोटरसाइकल २०२६ भित्रै भारतीय बजारमा उपलब्ध हुने भएको छ ।

बजाज अटोका प्रबन्ध निर्देशक तथा सीईओ राजिव बजाजले हालै दिएको अन्तर्वार्तामा ३५० सीसीको नयाँ मोटरसाइकल ल्याउने जानकारी दिएका हुन् ।

भारतमा ३५० सीसी भन्दा माथिका मोटरसाइकललाई प्रिमियम सेग्मेन्टमा राखि जीएसटी (कर) को दायरा बढाएपछि कम्पनीले ३५० सीसीमा नयाँ मोडल ल्याउने भएको हो । कम्पनीले यही रणनीति बजाजका ४०० सीसीको डोमिनार र एनएस मोटरसाइकलमा पनि अपनाएको थियो ।

भारतमा बढेको जीएसटीले ३५० सीसीभन्दा माथि इन्जिन क्षमता भएका मोटरसाइकलहरूको मूल्य बढेको छ । मूल्य बढेपछि सबैको पहुँचमा पर्न नसक्ने भएकाले कम्पनीले अफोर्डेबल मूल्य बनाउनका लागि ३५० सीसीमा नयाँ मोडलहरू बजारमा ल्याउन तयारी थालेहो हो ।

ट्रायम्फको नयाँ ३५० मोडल हालको ४०० सीसी सिंगल सिलिण्डर प्लेटफमै आधारित हुने अनुमान गरिएको छ । साथै, यसको डिजाइन र अन्य केही कम्पोनेन्ट पनि समान नै हुने बताइएको छ । तर, इन्जिन ट्युनिङ र अन्य यान्त्रिक सिस्टमा भने निकै परिमार्जन हुने छ ।


Back_to_top