काठमाडौं । युरोपियन अटोमोबाइल ब्राण्ड स्टेलान्टिस एनभीले आफ्नो लागत घटाउन चिनियाँ स्टार्टअप ब्राण्ड लीपमोटरको विद्युतीय सवारी (ईभी)को प्रविधि गर्ने गर्ने भएको छ ।
स्टेलान्टिसले चर्चित युरोपेली ब्राण्डहरू फेट, ओपेल र प्युजोका लागि लागत घटाउन लीपमोटरको ईभी प्रविधि अपनाउने सम्भावनाको अध्ययन गरिरहेको बताइएको हो ।
स्टेलान्टिसले लीपमोटरसँगको ज्वाइन्ट भेन्चर गरी उन्नत ब्याट्री तथा विद्युतीय पावरट्रेन प्रविधिमा पहुँच बढाउने विकल्पको मूल्यांकन गरिरहेको ब्लूमबर्गले स्रोतहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
स्रोतहरूका अनुसार दुवै पक्ष यसै वर्ष सम्झौता टुंग्याउने लक्ष्यमा छन्। तर वार्ता प्रारम्भिक चरणमै रहेकाले डाटा सुरक्षा सम्बन्धी चिन्ता र चिनियाँ सवारी माथि अमेरिकाले लगाएका प्रतिबन्धजस्ता नियामक अवरोध पार गर्नुपर्नेछ।
स्टेलान्टिस रणनीतिक पुनर्संरचनाको कठिन प्रक्रियाबाट गुज्रिरहेको अवस्थामा सहकार्य विस्तारको हात अघि बढाएको हो । कुनै पनि प्रमुख युरोपियन अटोमोबाइल निर्माताले आफ्ना कारमा चिनियाँ कम्पनीको भेहिकल स्ट्रक्चर र सफ्टवेयरमा निर्भर हुने अवस्था पहिलो पटक सिर्जना भएको हो ।
स्टेलान्टिसले युरोपेली बजारमा विश्वकै ठूलो एनईभी ब्राण्ड बीवाइडी तथा युरोपेली ब्राण्ड फक्सवागेन र रेनोसँग तीव्र प्रतिस्पर्धा गरिरहेको छ ।
स्टेलान्टिसका लागि लीपमोटरको प्रविधि अपनाउँदा अनुसन्धान तथा विकास खर्चमा उल्लेखनीय बचत हुनुका साथै उत्पादन प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्न सहयोग पुग्ने बताइएके छ ।
यस महिनाको सुरूमा स्टेलान्टिसले बजार हिस्सा र नाफामा आएको गिरावट सम्बोधन गर्न २२.२ अर्ब युरो बराबरको सम्पत्ति अवमूल्यन तथा अतिरिक्त खर्च घोषणा गरेको थियो।
दुवै कम्पनी बीचको सहकार्य सन् २०२३ मा सुरू भएको थियो । स्टेलान्टिसले १.५ अर्ब युरो लगानी गरी लीपमोटरको करिब २० प्रतिशत सेयर किनेको थियो । यद्यपि, अहिले घटेर १५ प्रतिशतमा सीमित छ ।
मे २०२४ मा दुवै पक्षले लीपमोटर इन्टरनेशनल नामक संयुक्त उद्योग स्थापना गरेका थिए । जसमा स्टेलान्टिसको ५१ प्रतिशत स्वामित्व छ।
हाल स्टेलान्टिसले आफ्ना युरोपेली वितरक सञ्जालमार्फत लीपमोटर सी १० जस्ता मोडेल बिक्री गरिरहेको छ । उक्त ब्राण्डको विश्वव्यापी विस्तार तीव्र बनाइरहेको छ।

