कम मूल्यका ईभी खोज्नेलाई लक्षित गर्दै एक वर्षमा नेपाल आएका ३ ब्राण्ड

काठमाडौं । बजारमा कम मूल्यको ईभी चाहियो भन्ने निकै ठूलो जमात भेटिन्छ । तर, कम मूल्यमा विक्री गर्नेगरी आएका साना कारले विगतदेखि नै राम्रो बजार भने पाउन सकेका छैनन् ।

नेपालमा साना र कम मूल्यका सहर केन्द्रित कार ल्याउन महिन्द्राले सुरु गरेको थियो । त्यसपछि दिगो, डेरी लगायतका ब्राण्डले मिनी कार ल्याए पनि सफलता पाउन सकेनन् । अहिले विश्वभर ईभीको चर्चा अत्याधिक भएको समयमा फेरी साना कार नेपाल आएका छन् ।

सन् २०२२ मा विभिन्न तीन ब्राण्डले आफ्ना कार नेपाली बजारमा ल्याए । मूल्यका हिसावले २३ देखि ३८ लाख मूल्य कायम भएका विद्युतीय कार मध्ये होजोन मोटर्स, विलिङ र हेनरीले ल्याएका कारले चर्चा बटुल्न सफल भए ।

विद्युतीय सवारीको प्रयोग बढाउन र आवश्यक पूर्वाधारको निर्माण गर्न आयातकर्ता, व्यवसायीसँगै सरकार स्वयम् पनि लागि परेका छन् ।

नेटा

सन् २०२२ मा नेपाल आएर सर्वाधिक चर्चा पाएको ब्राण्ड ‘नेटा’ हो । चिनियाँ स्टार्टअप कम्पनी होजोन मोटर्सले उत्पादन गरेको विद्युतीय सवारी ब्राण्ड नेटाको मोडल भी नेपालमा अहिले विक्री भइरहेको छ । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले नेपाल ल्याएको नेटा भी छोटो समयमा नै सडकमा राम्रो उपस्थिति बनाउन सफल मोडल हो ।

नेटा भीमा रहेको ३८ किलोवाट आवरको ब्याट्री र त्यसलाई फुलचार्जमा गुडाउन सकिने ३५० किलोमिटर हाराहारीको रेन्जले धेरैको मन लोभ्यायो । झट्ट हेर्दा मिनि टेस्ला जस्तो देखिने नेटा भीको मूल्य ३८ लाख रुपैयाँ कायम गरिएको थियो । जुन अहिले पनि त्यहि छ । यसलाई बजारमा पाइने ‘भ्यालु फर मनी क्रसओभर कार’को रूपमा धेरैले लिने गरेका छन् ।

विलिङ

चिनियाँ ब्राण्ड विलिङले इन्डोनेशियामा उत्पादन गरेको एयर मिनी अहिले निकै चर्चा हुने मोडल हो । विलिङ ब्राण्ड केही सयम अघि मात्रै नेपाल आएको हो । अहिलेसम्म ठूलो परिमाणमा नआएको विलिङ सहर केन्द्रित कार हो ।

ईभी नेपाल प्रालिले आधिकारिक रुपमा बिक्री सुरु गरेको विलिङ एयर मिनी टलह्याच डिजाइनमा निर्माण गरिएको कार हो । कम्पनीले यसको सर्ट रेन्ज मोडललाई २४ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर विक्री सुरु गरेको छ ।

स्टायडर्ड भेरियन्टले सिंगल चार्जमा २०० किलोमिटरसम्म रेन्ज दिन्छ । १७.३ किलोवाट आवरको लिथियम फेरो फोस्फेट ब्याट्री जडान भएको छ । यसको लङ रेन्ज मोडलमा २४ किलोवाट आवरको ब्याट्री भने यसको मूल्य ३० लाख ९९ हजार रुपैयाँ रहेको छ ।

हेनरी

पायोनीयर वर्ल्डवाइडले सन् २०२२ मै नेपाल ल्याएको हेनरी ब्राण्डका र्इभी राम्रै संख्यामा नेपाल आएका छन् । हेनरी ईभीमा १७ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री जडान भएको छ । यस मिनी ईभीमा ३५ किलोवाट क्षमताको मोटर छ ।

चालकसहित ५ जनाले यात्रा गर्न सकिने हेनरी मिनी ईभीको मूल्य २३ लाख ५० हजार रुपैयाँ रहेको छ । कम पार्किङ स्पेश, अत्यन्त न्यून संचालन लागत र चलाउन सहज भएका कारण यो मिनी ईभी प्रायः सहरी क्षेत्रमा आवतजावत गर्नेले रुचाउने गरेका छन् ।


Back_to_top