काठमाडौं । अहिले बजारमा पेट्रोलियम पदार्थबाट चल्ने कार बिक्रेतालाई निकै कठिन समय आएको छ । चालु आर्थिक वर्षको ११ महिनामा ईभीको आयात ११ हजार यूनिट माथि पुग्दा पेट्रोलियम पदार्थबाट चल्ने कार ४ हजार यूनिट मात्रै आयात छ ।
आयातमै आएको कमीले पेट्रोलियम पदार्थबाट चल्ने कारको अवस्था दर्साउँछ । तर, बिक्रेताहरुले उपभोक्तामैत्री स्कीम संचालन गरेर गाडी किन्न प्रेरित गरिरहेका छन् । यसरी स्कीम दिनेमा फोर्ड सबैभन्दा अगाडि रहेको छ ।
फोर्डले आफ्नो रेन्जर, ¥याप्टर र एभरेष्ट जस्ता मोडलको बिक्रीमा १० वर्षसम्म इन्धन दिने स्कीम चलाइरहको छ । कम्पनीका अनुसार यो स्कीममा मानिसको चासो निकै बढ्दै गएको छ ।

फोर्डपछि निसानको आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले आफ्नो चर्चित मोडल म्याग्नाइटमा ४ वर्षसम्म पेट्रोलको पैसा तिर्नु नपर्ने स्कीम दिइरहेको छ । कम्पनीले ईभीको संचालन खर्च जस्तै पेट्रोल कारको संचालन खर्च पनि कम लागेको उपभोक्तालाई बुझाउन यस्तो स्कीम ल्याएको हुनसक्छ ।

हुन्डाईले नेपालमा नै उत्पादन (एसेम्बल) गरेको भेन्यू मोडलमा स्कीम दिन थालेको छ । लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले मेड इन नेपाल भेन्यूको मूल्य ८ प्रतिशतले घटाएको छ भने अत्यन्त न्यून ६.९९ प्रतिशत ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराएको छ ।
कम्पनीहरुले अहिले चलाइरहेको स्कीम अनुसार गाडी किन्ने उपभोक्ताले निकै राम्रो स्कीम पाइरहेका छन् । यसले सुस्त रहेको पेट्रोलियम पदार्थबाट चल्ने कारको बिक्रीमा केही सपोर्ट पुग्ने देखिन्छ ।

