काठमाडौं । अर्को साताबाट सुरु हुने १६ औं संस्करणको नाडा अटो शोमा प्रदर्शनी हुन लागेका कारहरु धमाधम काठमाडौं आउँदैछन् । यहि क्रममा निकै प्रतिक्षा गरिएका तीन मोडल काठमाडौं आइपुग्दै छन् ।
अहिले आउन लागेका तीन वटै प्रिमियम मोडल चीनबाट आयात भएका हुन् । यी तीन वटै मोडलको ब्राण्ड पनि पहिलो पटक नेपाल आउन लागेका छन् ।
अहिले काठमाडौं आउने क्रममा रहेको जिकर एक्स सम्भवत मंगलवारसम्म काठमाडौं आइपुग्नेछ । निकै पावरफुल मोटर र आधुनिक फिचरको साथ आउन लागेको जिकर एक्स मोडल उत्कृष्ट क्रसओभर कार हुनेछ ।

पायोनियर मोटोकर्पले नेपाल ल्याइरहेको जिकर एक्स कटिङ एज टेक्नोलोजी प्रयोग भएको मोडल हो । यसलाई कम्पनीले टु ह्वील र फोर ह्वील ड्राइभ सिस्टममा ल्याउने छ । यसको मूल्य ९० लाखदेखि १ करोड ६० लाखसम्म पर्नेछ ।

सीजी मोटर्सले ल्याइरहेको एक्सपेङ जी-सिक्स पनि भोलि बेलुकासम्ममा काठमाडौं आइपुग्ने बताइएको छ । चिनियाँ स्टार्टअप कम्पनी एक्सपेङको पहिलो राइट ह्याण्ड ड्राइभ मोडलमा पनि निकै पावरफुल मोटर दिइएको छ ।
सीजी मोटर्सले यसलाई आगामी साताबाट आयोजना हुने अटो शोमा प्रदर्शनी गर्न लागेको हो । कम्पनीले यसको मूल्य सार्वजनिक गरेको छैन । तर, ८० लाख हाराहारीमा जी-सिक्स आउने अनुमान भने गर्न सकिन्छ ।

लिप मोटर्सको सी-१० एसयूभी पनि यहि साता काठमाडौं आइपुग्दैछ । नाडामा स्टल रहने लिप मोटर्सको सी-१० माथिका दुई मोडलभन्दा मूल्यमा सस्तो हुनेछ । अहिलेसम्म यसको मूल्य लगायतका विषयमा जानकारी प्राप्त भएको छैन । तर, यसको मूल्य ६५ लाख हाराहारी रहने अनुमान भने गर्न सकिन्छ ।

