नागढुंगा सुरुङमार्ग प्रयोग गर्दा तिर्नुपर्ने शुल्क सार्वजनिक

काठमाडौं । सरकारले नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले तिर्नुपर्ने शुल्क सार्वजनिक गरेको छ । २०८२ साउन २६ गते मन्त्रिपरिषद्ले स्वीकृत गरेको महसुलदर सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक गरेको हो ।

प्रकाशित सूचना अनुसार सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनलाई चार वर्गमा वर्गीकरण गरी शुल्क निर्धारण गरिएको छ । कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस र अन्य हलुका सवारीले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्ने छ ।

मिनीबस, मिनी ट्रिपर/ट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ । बस, ट्रक (सिंगल रियर एक्सल)को हकमा काठमाडौं आउँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ दस्तुर तोकिएको छ ।

मल्टी एक्सल ट्रक/सवारी साधन र भारी उपकरणलाई भित्र छिर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ दस्तुर तिर्नुपर्नेछ ।

यो सुरुङमार्गमा सबै सवारी साधन गुडाउन पाइने छैन । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग यातायात संचालन सम्बन्धी निर्देशिका, २०८१ अनुसार सुरुङ भित्र दुईपाँग्रे (मोटरसाइकल/स्कुटर), तीनपाँग्रे (ट्याम्पु, अटोरिक्सा), डिजेल, पेट्रोल लगायत पेट्रेलियम पद्धार्थ बोकेका ट्यांकरलाई प्रवेश निषेध गरिएको छ ।

त्यस्तै, सुरक्षा निकायका बाहेक हातहतियार बोकेका, विस्फोटक पदार्थ बोकेका, दुर्गन्धित गन्हाउने, कुहिएका सवारी साधन बोकेका, नन मोटराइज्ड सवारी साधन पनि सुरुङ भित्र गुडाउन पाइँदैन ।

सुरुङमार्ग भित्र १८ मिटर लम्बाइ, २.५ मिटर चौडाइ र ४.२५ मिटर उचाइभन्दा ठूला सवारीसाधन चलाउन नपाउने निर्देशिकामा उल्लेख छ । सुरुङमार्गमा गुड्ने सवारी साधनको अधिकतम गति प्रतिघण्टा ६० किलोमिटर तोकिएको छ ।

यो सुरुङमार्ग जेठदेखि संचालनमा ल्याउने तयारी छ । सुरुङमार्ग संचालनका लागि सेवा प्रदायक कम्पनी समेत छनोट भइसकेको छ । अब जनशक्ति व्यवस्थापन र उनीहरूलाई तालिम प्रदान गरी सुरुङ संचालनमा ल्याइने छ ।


Back_to_top