काठमाडौं । सन् २०२५ मा मोटरसाइकल बजारमा राम्रै बढोत्तरी देखिएको छ । कोभिड–१९ को समयमा चम्केको बजार त्यसपछि क्रमशः गिरावटमा देखिएको थियो । सन् २०२३ मा निकै तल्लो बिन्दुमा पुगेको बजार क्रमशः लयमा फर्किन थालेको हो ।
बढ्दो बजारमा १२५ सीसीदेखि ४०० सीसीसम्मका मोटरसाइकल धेरै बिक्री हुँदै आएका छन् । नेपालमा धेरै बिक्री हुने मोटरसाइकल सेग्मेन्टमा कम्युटर र स्पोर्टस मुख्य छन् ।
कम्युटर सेग्मेन्टमा बिक्री हुने मोटरसाइकल इन्ट्री, स्याण्डर्ड र डिलक्स भनेर आयात हुन्छ । स्पोर्टस बाइकहरू रेगुलर र प्रिमियम छुट्याएर आयात हुँदै आएको छ ।
सन् २०२५ को जनवरीदेखि डिसेम्बर १५ सम्मको आयात तथ्यांक अनुसार सर्वाधिक आयात हुने मोडलमा १२५ सीसीदेखि ३५० सीसीसम्मका मोटरसाइल छन् । यस्तोमा एक वर्षमा धेरै आयात भएका मोडलका बारेमा यहाँ चर्चा गरिएको छ ।
कुन मोडलको आयात कति ?
नेपाली बजारमा सार्वधिक आयात भएको मोडल बजाज पल्सर १५० हो । हंशराज हुलासचन्द एण्ड कम्पनीले बिक्री गर्दै आएको पल्सर १५० निरन्तर सफल मोडल बन्दै आएको छ । सन् २०२५ पल्सर १५० मोडल १८ हजार ९४८ युनिट आयात भएको भन्सार तथ्यांकमा देखिन्छ ।
सूचीको दास्रो स्थानमा प्रिमियम सेग्मेन्टको मोटरसाइकल परेको छ । रोयल इनफिल्ड ३५० ले दोस्रो स्थानमा कब्जा जमाएको हो । प्रिमियम सेग्मेन्टमा बिक्री हुने रोयल इनफिल्ड क्लासिक ३५० मोटरसाइकल १० हजार २४ युनिट आयात भएको देखिन्छ ।
यामाहाको सफल मोडल एफजेड तेस्रो धेरै आयात भएको मोडल हो । एमएडब्लू राइडले एक वर्षको अवधिमा ८ हजार ३१८ युनिट एफजेड मोडल आयात गरेको देखिन्छ ।
धेरै आयात भएको मोटरसाइकलको सूचीमा बजाजको सफल मोडल पल्सर २२० एफ पनि परेको छ । पल्सर २२० धेरै आयात हुने मोडलको सूचीको चौथो स्थानमा छ । बजाज पल्सर २२० एफको आयात ७ हजार ८०८ युनिट भएको देखिन्छ । पावर स्टाइलका कारण पल्सर २२० सहरी क्षेत्रदेखि ग्रामीण क्षेत्रमा निकै रुचाइएको हो ।
सूचीको पाँचौं स्थानमा होन्डाको कम्युटर मोडल ‘होन्डा एसपी १२५’ पर्न सफल भएको छ । होन्डा एसपीले अपाचे आरटीआर १६० लाई १७८ युनिटले पछि पार्दै पाँचौं स्थान हासिल गरेको हो ।
सन् २०२५ मा होन्डा एसपी १२५ मोटरसाइकल ५ हजार ७५८ युनिट आयात भएको देखिन्छ । यस अवधिमा टीभीएस अपाचे आरटीआर १६० भने ५ हजार ५८० युनिट आयात भएको छ ।

