इन्जिन र चेसिस नम्बर परिवर्तन गरी चलाइएका ५ बोलेरो नियन्त्रणमा

काठमाडौं । ट्राफिक प्रहरीले भारतबाट अवैध रुपमा आयात गरी इन्जिन र चेसिस नम्बर परिवर्तन गरी चलाइएको ५ वटा बोलेरो नियन्त्रणमा लिएको छ ।

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले ताप्लेजुङबाट विभिन्न मितिमा नियन्त्रणमा लिइएका ५ बोलेरो गाडी सार्वजनिक गरेको हो ।

ट्राफिक प्रहरीका अनुसार नियन्त्रणमा लिएका सवारीसाधनको विवरण यातायात व्यवस्था कार्यलयमा रहेकोभन्दा फरक पाइएको छ । ट्राफिकले नियमित चेकजाँचको क्रममा ती सवारीको कागजात तथा अभिलेख चेकजाँच गर्दा फरक फरक फर विवरण भेटाएको हो ।

अनुसन्धानको क्रममा ती गाडीहरु भारतबाट अवैध रुपमा भित्र्याएको र नेपाल ल्याएपछि इन्जिन र चेसिस नम्बर परिवर्तन गरी चलाइरहेको पाइएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ग १ च ६६५४ नम्बरको सवारीसाधन आयातकर्ता कम्पनीले आयात नगरेको र यातायात व्यवस्था कार्यालय गण्डकीलाई विवरण समेत उपलब्ध नगराएको पाइएको छ। उक्त सवारीको इन्जिन नम्बर जीएफ७४इ६०८६९ र चेसिस नम्बर एमए१एक्सबी२जीकेए७२इ२६५८६ रहेको छ ।

त्यस्तै, ना २ ज ७९५५ नम्बरको सवारीसाधनमा इन्जिन नम्बर र रङ समेत परिवर्त गरेको पाइएको छ । उक्त सवारीमा इन्जिन नम्बर जीजी ८१ एफ ४१४८४ र जीए ९४ एल ६९४८१ उल्लेख भएको छ भने चेसिस नम्बर एमए १ पीएसजेडजीएके ९८ एम ७७६४४ रहेको कार्यालयले जनाएको छ ।

त्यसैगरी, को १ ज ११११ नम्बरको सवारीसाधनमा सवारी दर्ता किताबमा उल्लेख भएको इन्जिन नम्बर एएफ ३१ एल ३२७६४ भए पनि सवारीमा जडान गरिएको इन्जिन नम्बर डीडब्लू ४६०२३ भेटिएको छ।

यस्तै, ना २ ज ८४८३ नम्बरको सवारीसाधन यातायात व्यवस्था कार्यालय नारायणीको अभिलेखमा नपरेको तथा सवारी दर्ता किताब संकलन नभएको पाइएको छ ।

ना ३ च ३९२८ नम्बरको सवारीसाधन कम्पनीबाट आयात नभएको अवस्थामा इन्जिन नम्बर रि-पञ्च गरिएको भेटिएको छ । सो सवारीको इन्जिन नम्बर डीएफ १४ एल ३८५४२ र चेसिस नम्बर एमए १ बीपी ४ डीएफसी १२ एल ७४०२७ रहेको छ।

नियन्त्रणमा लिइएका सबै सवारीसाधन थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाइने ट्राफिक प्रहरीले जनाएको छ ।


Back_to_top