टाटाले बिक्री पुरा गर्‍यो २ लाख ५० हजार ईभी, नेक्सनको संख्या १ लाख

काठमाडौं । भारतमा इलेक्ट्रीक कार बिक्रीमा अग्रणी टाटा मोटर्सले २ लाख ५० हजार युनिट ईभी बिक्री गरेको छ । कम्पनीले हिजो एक विज्ञप्ती जारी गर्दै बिक्री आँकडा सार्वजनिक गरेको हो ।

कम्पनीले विज्ञप्तीमा भनेको छ, ‘हामीले भारतको ईभी बजारलाई नेतृत्व प्रदान गरिरहेका छौं । यही प्रयासले बजारमा टाटाका ईभी सर्वाधिक सफल भएका हुन् ।’

सन् २०२० मा पहिलो पटक विद्युतीय कार लन्च गरेको टाटाले त्यसको पाँच वर्षपछि २ लाख ५० हजार युनिट बिक्री पुरा गरेको हो । कम्पनीले ल्याएको पहिलो मोडल नेक्सन ईभीले १ लाख युनिट बिक्री पुरा गरेको छ ।

अहिलेसम्मको बिक्रीलाई आधार मान्ने हो भने टाटाले भारतमा ६६ प्रतिशत बजार हिस्सा ओगटेको छ । कम्पनीसँग अहिले नेक्सन ईभी, टियागो ईभी, टिगोर ईभी, पन्च ईभी र ह्यारीयर ईभी छ । कम्पनीले छिट्टै सियरा एसयूभीको इलेक्ट्रीक मोडल पनि बजारमा ल्याउँदैछ ।

२ लाख ५० हजार युनिट बिक्री पुरा भएको अवसरमा एक विशेष कार्यक्रम आयोजना गर्दै टाटा मोटर्स प्यासेन्जर भेहिकल डिभिजनका एमडी तथा सीईओ शैलेश चन्द्रले भने, ‘नयाँ उचाई भेट्टाउन सकेकोमा हामी उत्साहित छौं ।’

सीईओ चन्द्राका अनुसार सन् २०२६ मा सियरा ईभीसँगै प्रिमियम लग्जरी मोडल अभिन्या सार्वजनिक हुनेछ । यसका अलावा कम्पनीले ‘नेक्स्ट जेन चार्जिङ’मा पनि काम गर्नेछ । सन् २०२७ को अन्तिमसम्ममा ४ लाख चार्जिङ प्वइन्ट स्थापना गर्ने योजना अगाडि सारेको हो । जस मध्ये ३० हजार डिसी फास्ट चार्जर हुनेछ ।


Back_to_top