सन् २०२५ लागेपछि धेरै आयात भएका कार, शीर्ष १० मा कुन-कुन ?

काठमाडौं । सन् २०२५ लागेसँगै कारको बिक्री र आयात राम्रै संख्यामा हुँदै आएको छ । अझ बजेटले कर बढाउँछ भन्ने हल्लासँगै व्यवसायीले अप्रिल र मे महिनामा ठूलो संख्यामा कार आयात गरेका थिए ।

यस अवधिमा ५४ भन्दा धेरै ब्राण्डका गाडी नेपाल प्रवेश गरेका छन् । सबै मिलाउँदा ९ हजार ५९७ युनिट आयात भएको हो ।

आयात भएको मोडल अनुसार हेर्दा सबैभन्दा धेरै आयात एमजी एस-फाइभ भएको छ । पारामाउन्ट मोटर्सले नेपाल ल्याएको एमजी एस फाइभ एक्लै १ हजार ५२ युनिट आयात भएको भन्सार तथ्यांकमा देखिन्छ । यो कुनै पनि ब्राण्डले यस अवधिमा ल्याएको सबैभन्दा धेरै युनिट सिंगल मोडल हो ।

सन् २०१६ देखि निरन्तर अब्बल संख्यामा बिक्री हुँदै आएको हुन्डाई क्रेटा निकै सफल मोडल हो । लक्ष्मी मोटर कर्पोरेसनले क्रेटा नेपालमै एसेम्बल गर्दै आएको छ । साथै, इलेक्ट्रीक क्रेटा पनि बजारमा उपलब्ध गराएको छ । समग्रमा पेट्रोल र ईभी क्रेटा मिलाएर ८५३ युनिट आयात देखिन्छ । जुन दोस्रो धेरै हो ।

बजारमा हटकेक ह्याचब्याक कार बनेको नामी-०१ को आयात पनि निकै राम्रो देखिएको छ । नामीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले नामी-०१ ह्याचब्याक ६६४ युनिट आयात गरेको देखिन्छ । नामी-०१ तेस्रो धेरै आयात भएको कार मोडल हो ।

ह्याचब्याक सेग्मेन्टलाई पुनः स्थापित गरेको बीवाइडी डल्फिन चौथो धेरै आयात भएको मोडल हो । साइमेक्स इंकले जनवरी १ देखि अगस्ट १५ तारिखसम्मको अवधिमा ५८५ युनिट आयात गरेको देखिन्छ ।

पाँचौं स्थानमा बीवाइडी एटो-थ्री रहेको छ । बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले अगस्ट १५ तारिखसम्म ४३१ युनिट एटो थ्री नेपाल ल्याएको छ । नेपाली बजारमा सर्वाधिक सफल इलेक्ट्रीक कार मोडल नै बीवाइडी एटो-थ्री हो ।

टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले अघिल्लो वर्ष ल्याएको पन्च ईभी जनवरीदेखि अगस्ट १५ तारिखसम्ममा ४०६ युनिट आयात भएको छ । टाटा पन्च पन्च ईभी धेरै आयात भएका गाडीको सूचीमा छैटौं नम्बरमा परेको हो ।

चांगान ग्रुपको न्यू इनर्जी भेहिकल ब्राण्ड दीपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले दीपलको सर्वाधिक चर्चित क्रसओभर एसयूभी एस-०७ को आयात २७८ युनिट गरेको देखिन्छ ।

साँग्रिला मोटर्स आधिकारिक बिक्रेता रहेको लीपमोटर सी-१० एसयूभीको आयात २३९ भएको छ । लीपमोटरको सबैभन्दा ठूलो एसयूभी सूचीमा आठौं धेरै आयात भएको मोडल हो ।

मलेसियन ब्राण्ड प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपाल ल्याएको इमास-सेभेन पनि धेरै आयात भएका १० कारको सूचीमा अटाउन सफल भएको छ । कम्पनीले इमास-सेभेन २०२ युनिट आयात गरेको छ । धेरै आयात भएको प्यासेन्जर कारको सूचीमा इमास-सेभेन नवौं स्थानमा पर्न सफल भएको हो ।

चेरी अटोमोबाइल ग्रुपको न्यू इनर्जी ब्राण्ड ओमोडा जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले बिक्री गर्दै आएको ओमोडा ई-फाइभ सूचीको १० औं स्थानमा परेको छ । कम्पनीले ई-फाइभको आयात यस अवधिमा १९९ युनिट गरेको देखिन्छ ।


Back_to_top