एक महिनामा जारी भए १ लाख १२ हजार मोटर बीमा पोलिसी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन)मा झण्डै १ लाख १२ हजार मोटर बीमा पोलिसी जारी भएका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार साउनमा कुल १ लाख ११ हजार ७०१ वटा मोटर बीमा पोलिसी जारी भएका हुन् ।

गत वर्ष साउनको तुलनामा चालु आवमा मोटर बीमा १.०३ प्रतिशतले घटेको हो । गत वर्ष साउनमा १ लाख १२ हजार ८६५ वटा मोटर बीमा पोलिसी जारी भएका थिए ।

चालु आवको साउनमा मोटर बीमा बापत निर्जीवन बीमा कम्पनीहरूले १ अर्ब १० करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । प्रिमियम पनि गत वर्षको तुलनामा १२ करोड रुपैयाँले घटेको छ । गत वर्ष साउनमा मोटर बीमाबाट १ अर्ब २२ करोड रुपैयाँँ प्रिमियम संकलन भएको थियो ।

चालु आवको साउनमा बागमती प्रदेशमा सबैभन्दा धेरै ५६ हजार ६५९ वटा मोटर बीमा पोलिसी बिक्री भएका छन् ।

त्यस्तै, लुम्बिनीमा १५ हजार ८९२, कोशीमा १२ हजार ७२१, गण्डकीमा १० हजार ५३६, मधेशमा ९ हजार ३१६, सुदूरपश्चिममा ४ हजार ९४९ वटा पोलिसी जारी भएको प्राधिकरणले जनाएको छ ।

साउनमा कर्णालीमा सबैभन्दा कम १ हजार ६२८ वटा मात्रै पोलिसी बिक्री भएको छ ।


Back_to_top