सांघाई । जापानी ब्राण्ड टोयोटाले निकै स्मार्ट क्रसओभर मोडल टोयोटा बीजेड-५ मोडल बजारमा ल्याएको छ । कम्पनीले ल्याएको बीजेड-५ सांघाई अटो शोबाट प्रिसेल्स पनि सुरू गरेको हो ।
एफएडब्लू टोयोटाले चीनमा उत्पादन गरेको बीजेड-५ प्योर इलेक्ट्रीक एसयूभी हो । यसलाई कम्पनीले आफ्नो ब्राण्डको रेपुटेसन र टेक्नोलोजीले भरिपूर्ण बनाएर ल्याएको दाबी गरेको छ ।
टोयोटाले १७ हजार ८०० अमेरिकी डलर सुरूवाती मूल्य तोकेर यसको प्रिसेल सुरू गरेको हो । ‘गिभ मी फाइभ’ स्लोगनसहित आएको बीजेड-५ टीएनजीए प्लेटफर्ममा बनेको हो । मोमेन्टा ५.० इन्टेलिजेन्ट ड्राइभिङ सिस्टमको साथ आएको एसयूभीमा ब्लेड टेक्नोलोजीको ब्याट्री प्रयोग भएको छ ।
एफएडब्लू टोयोटाले यसमा रहेको ब्याट्री साइजको विषयमा कुनै जानकारी दिएको छैन । तर, कम्पनीले यसको सीएलटीसी रेन्ज भने ६३० किलोमिटर हुने जनाएको छ । यसको मोटर साइज भने २०० किलोवाट हुनेछ ।
यसमा रहेको इन्टेलिजेन्ट ड्राइभिङ सिस्टमको कुरा गर्नुपर्दा ३३ वटा सेन्सर, लेभल २ अर्बान एसिस्ट ड्राइभिङ फङ्गशन दिइएको छ । यसको अटोनोमस पार्किङ र लेन कीप अत्यन्त राम्रो रहेको कम्पनीले दाबी गरेको छ ।
क्रसओभर एसयूभी साइजमा पनि निकै ठूलो लाग्छ । यसको लम्बाइ ४७८० एमएम भने ह्वलबेस २८८० एमएम लामो छ । यसबाटै गाडीको साइज पुष्टि हुन्छ । यसका अलावा २१ इन्चको ह्वील, निकै ठूलो पानारोमिक सनरुफ, २५६ कलर मध्ये छान्न मिल्ने एम्बियन्ट लाइट, न्यापमोड दिइएको छ ।
चिनियाँ बजारमा आफ्नो उपस्थिति बलियो बनाउन टोयोटाले बीजेड-७ पनि सार्वजनिक गरिसकेको छ । यसको बिक्री भने अहिल्यै सुरू हुने छैन ।