दुई ब्याट्री अप्सनमा टोयोटाको ‘बीजेड-फाइभ’, मूल्य १८ हजार डलरबाट सुरू

काठमाडौं । जापानी ब्राण्ड टोयोटाले चीनको एफएडब्लू ग्रुपसँगको साझेदारीमा उत्पादन गर्न लागेको बीजेड-फाइभ क्रसओभर एसयूभीको ब्याट्री र मोटर पावरको सम्पूर्ण विवरण सार्वजनिक भएको छ । कम्पनीले बाहिर ल्याएको जानकारी अनुसार यसमा दुई ब्याट्री अप्सन उपलब्ध हुनेछ ।

ब्लेड टेक्नोलोजीमा आधारित ब्याट्री टोयोटाले फिनड्रिम्ससँग किनेको हो । कम्पनीका अनुसार बीजेड-फाइभ एसयूभीमा ६५.२८ किलोवाट आवर र ७३.९८ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री उपलब्ध हुनेछ । यसको सीएलटीसी रेन्ज क्रमशः ५५० र ६३० किलोमिटर हुने बताइएको छ ।

सीएलटीसीको रेन्जको तुलनामा वास्तविक सडकमा गुडाउँदा पाइने रेन्ज भने कमै हुन्छ । सडकमा यी दुई अप्सनले क्रमशः ४३० र ५०० किलोमिटर हाराहारी रेन्ज पाउन सकिन्छ ।

टोयोटा बीजेड-फाइभमा २०० किलोवाट क्षमताको मोटर दिनेछ । टोयोटा न्यू ग्लोबल आर्किटेक्चरमा बनेको क्रसओभर मोडलको लम्बाइ ४७८० एमएम छ । जबकी यसको चौडाइ १८६६ एमएम र ह्वीलबेस २८८० एमएम छ । यसमा २१ इन्चको विशाल ठूलो ह्वील दिइएको छ ।

टोयोटाले सुरक्षामा अब्बल बनाउन यसमा मोमेन्टा ५.० लेभल टु अर्वान एड्भान्स ड्राइभिङ एसिस्टेन्स सिस्टम दिएको छ । यसमा ३३ सेन्सरसँगै छतमा लाइडार, ५ मिलिमिटर वेभ रेडार, ७ वटा क्यामेरा प्रयोग गरेको छ । अटो पाइलट क्षमता, इन्टेलिजेन्ट पार्किङ एसिस्टेन्स, रिमोर्ट पार्किङ र टोयोटा सेफ्टी सेन्स पनि दिएको छ ।

कम्पनीले यसको क्याविन पनि निकै प्रिमियम बनाएको छ । १५.६ इन्चको विशाल टच स्कृन, पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, पानारोमिक सनरुफ दिएको छ । कम्पनीका अनुसार यसको सनरुफमा प्रयोग भएको ग्लासले ९९.९८ प्रतिशत अल्ट्राभोइलेट किरणहरु रोक्नेछ ।

जेबीएलको १० स्पीकर, एआई फेस रिकगनिसन, भेहिकलबाटै भिडियो कल, २५६ कलरमा छनोट गर्न मिल्ने एम्बियन्ट लाइट दिइएको छ । टोयोटाले चीनमा यसको उत्पादन पनि सुरु गरिसकेको छ । यसको सुरुवाती मूल्य १८ हजार डलर कायम गरेर बिक्री सुरु गर्न लागेको हो ।


Back_to_top