नारायणगढ-बुटवल सडकको ८३ प्रतिशत भागमा एकतर्फी कालोपत्र गरियो

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल सडकको ८३ प्रतिशत भागमा एकतर्फी रूपमा कालोपत्र सम्पन्न भएको छ ।

नारायणगढ-बुटवल सडकको कुल ११३.५३ किलोमिटरमध्ये हाल एकतर्फी रूपमा ९०.८७ किमी सडक कालोपत्र भएको हो ।

आयोजनका सूचना अधिकारी शिव खनालका अनुसार पुलहरूले ओगटेको क्षेत्रबाहेक ११०.४६ किमी कालोपत्र गर्नुपर्ने छ । सो मध्ये हालसम्म ९३.९४ किमी सडक कालोपत्र भएको उनले बताए । कुल लम्बाइको ८३ प्रतिशत भाग कालोपत्र सडकमा यात्रा गर्न सकिने भएको सूचना अधिकारी खनालले बताए ।यस खण्डमा पुलको लम्बाइ ३.०७ किलोमिटर रहेको छ ।

उनका अनुसार आयोजनाको समग्रमा कुल भौतिक प्रगति ६६.५० प्रतिशत पुगेको छ । अब १९.५९ किलोमिटर क्षेत्रमा भने कालोपत्र गर्न बाँकी छ । उनका अनुसार यस खण्डमा काम गर्नुपर्ने बाँकी क्षेत्र अधिकांश दाउन्ने खण्डमा रहेको छ । सोहीअनुसार दाउन्ने खण्डमा काम केन्द्रित गरिएको छ ।

दाउन्ने क्षेत्रमा हाल कल्भर्ट निर्माणको काम अन्तिम चरणमा पुगेको र उक्त खण्डमा सडक ढलानको कामसमेत जारी रहेको छ । दाउन्ने खण्डको यात्रालाई जतिसक्दो छिटो सहज बनाउने योजना अनुसारको काम जारी छ ।

नारायणगढ-बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालि काम सुरू गरेको थियो । नारायणगढ-बुटवल सडकको कुल एक सय १३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो ।

निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गते सम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा पनि काम सम्पन्न नभएपछि गत  साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रोपटक म्याद थप गरिएको छ ।

एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा अघि बढेको  सडक विस्तार योजनाको  दुवै खण्ड गरेर कुल १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ लागत रहेको छ । ११३ किलोमिटर सडकमध्ये  ७० किलोमिटर  चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छ-छ  मिटरको सर्भिस लेन हुने छ ।  दाउन्नेमा १४ किलोमिटर तीन लेनको सडक हुने छ ।

राजमार्ग विस्तारको महत्त्वपूर्ण योजना समयमा सम्पन्न नहुँदा यात्रीले लामो समयसम्म सास्ती खेप्दै आएका छन् । अहिले कामले गति लिएको र यात्रामा केही सहजता मिल्न थालेको छ । तर अझै पनि दाउन्ने खण्डमा समस्या उस्तै छ । उक्त क्षेत्रमा सामान्य वर्षा हुँदा पनि बाटो चिप्लो भएर घण्टौँ जाममा पर्नुपर्ने बाध्यता छ ।


Back_to_top