काठमाडौं । जापानी ब्राण्ड टोयोटाले आफ्नो सर्वाधिक सफल कार कोरोलाको इलेक्ट्रीक भर्सन तयार पारेको छ । कम्पनीले अक्टोबर अन्तिम साता सुरु हुने टोकियो मोविलिटी शोमा यसलाई देखाउन लागेको हो ।
कोरोला ईभीको केही झलक बाहिर आउने वित्तिकै यसको डिजाइनलाई लिएर चर्चा सुरु भएको छ । धेरै समालोचकहरुले एक शब्दमा यसको डिजाइनलाई ‘स्ट्राइकिंग’ भनेका छन् । कन्सेप्ट कारको रुपमा देखिएको कोरोला ईभीको ओआरभीएम र ढोकाको ह्याण्डलहरु पृथक देखिन्छन् ।
टोयोटाले आफ्नो सफल मोडलहरुकै नामबाट ईभी ल्याउने तयारी थालेको भएपनि डिजाइन भने विल्कुलै नयाँ प्रयोग गर्ने भएको हो । यहाँ कोरोला नामको प्रयोग गर्न लागिएको भएपनि गाडीको डिजाइन भने विल्कुलै पृथक छ ।
अटोमोबाइल क्षेत्रमै टोयोटाले कोरोला जति बिक्री गरेको छ । अहिलेका धेरै चर्चित ब्राण्डहरुले गाडी नै उत्पादन गरेका छैनन् । यस्तोमा आफ्नो सफल नामलाई टोयोटाले निरन्तरता दिँदै न्यू इनर्जी भेहिकल सेग्मेन्टमा परिमार्जन गर्न लागेको बुझ्न सकिन्छ ।
अहिले देखिएको कोरोला ईभीको कन्सेप्टमा पिक्सेल डिजाइन एलइडी डे टाइम रनिङ लाइटको प्रयोग गरिएको छ । बुमेराङ आकारको डिआरएल, ठाडो आकारमा दिइएको एलइडी हेडल्याम्प, बीचमा टोयोटाको लोगो र तल्लो भागमा निकै आक्रमक डिजाइनमा सजिएको एक्टीभ एयर फ्ल्याप देखिएको छ ।
पछाडि दिइएको हन्चहरु, डकटेल स्पोइलर, ए पिलरमा दिइएको बेल्टलाइन र छोटो बोनेटले डिजाइनमा आक्रमकता झल्काएको छ । कोरोला ईभीको भित्र के छ भन्ने कुरा देखाइएको छैन । त्यो थाहापाउन भने अक्टोबर २९ तारिखबाट सुरु हुने जापान मोविलिटी शो कुर्नु पर्ने हुन्छ ।

