लीपमोटरको नयाँ एसयूभी ‘डी–१९’, गाडी भित्रै अक्सिजन उत्पादन हुने

काठमाडौं । चिनियाँ कार ब्राण्ड लीपमोटरले ठूलो साइजको एसयूभी ‘डी–१९’ सार्वजनिक गरेको छ । कम्पनीको एसयूभी लाइनअपकै सबैभन्दा ठूलो एसयूभीको रुपमा डी–१९ आउन लागेको हो ।

अक्टोबर १६ तारिखमा कम्पनीले डी–१९ एसयूभीको ग्लोबल प्रिमियर गरेको हो । युरोपियन ग्रुप स्टेलान्टिसको प्रवेशसँगै आक्रमक बजार विस्तारमा लागेको लीपमोटरले डी–१९ एसयूभी सन् २०२६ को पहिलो हाफ भित्रै बिक्री सुरु हुने जनाएको छ ।

नयाँ फुल साइज एसयूभीलाई ब्याट्री इलेक्ट्रीक र इआरईभी गरी दुई फरक पावर ट्रेनमा ल्याउने छ । यसमा अनबोर्ड एक्सिजन जेनेरेटर र ड्यूल क्वालकम स्न्यापड्रागन ८७९७ चिप्सको प्रयोग गरिएको छ ।

लीपमोटरले जनाए अनुसार डी–१९ एसयूभीको इआरईभी भर्सनमा प्रयोग भएको ब्याट्रीले सिंगल चार्जमा ५०० किलोमिटर र प्योर ब्याट्री इलेक्ट्रीक भर्सनले ७२० किलोमिटर रेन्ज दिनेछ । लीपमोटरले नयाँ एसयूभीलाई ‘टेक्नोलोजी नेचुरल एस्थेटिक्स २.०’ डिजाइन ल्याङ्गेवजमा तयार पारेको हो ।

नयाँ प्लेटफर्ममा बन्ने एसयूभीको अगाडि ‘थ्री स्टेज हेडलाइट क्लष्टर’ पाउन सकिन्छ । तल्लो भागमा एक्टीभ एयर फ्ल्यापको प्रयोग भएको छ भने पूर्णत क्लोजअफ ग्रिल दिइएको छ । गाडीको छतमा लाइडारको प्रयोग गरिएको छ । यसको पछाडि दिइएको टेल लाइटको लम्बाइ नै १९५८ एमएम लामो छ । जहाँ ११ हजार २५ एलइडी लाइटको प्रयोग भएको छ ।

पछाडिको लाइट नै यति ठूलो छ भने गाडीको साइज पनि के कम हुन्थ्यो । यसको लम्बाइ ५.२ मिटर र चौडाइ २ मिटर छ । यसमा ३१०० एमएम लामो ह्वीलवेस प्रयोग भएको छ ।

लीपमोटरका अनुसार डी–१९ एसयूभीमा ११५ किलोवाट आवरको विशाल ठूलो ब्याट्री प्रयोग भएको छ । जसलाई विश्वकै ठूलो ब्याट्री निर्माता सिएटीएलले उत्पादन गरेको हो ।

अर्को महत्वपूर्ण कुरा के हो भने लीपमोटरले डी–१९ एसयूभीलाई १००० भोल्ट आर्किटेक्चरमा तयार पारेको हो । ३५० किलोवाटसम्मको चार्जर सपोर्ट गर्ने एसयूभी तिब्र गतिमा चार्ज हुनेछ । गाडीको टप स्पीड क्षमता पनि सून्यदेखि १०० किलोमिटर प्रतिघन्टाको स्पीड केबल ३ सेकेन्डमा भेट्टाउँछ ।

निकै चर्चामा रहेको अन भेहिकल अक्सिजन जेनेरेटरले प्रति मिनेट ८ लिटर अक्सिजन उत्पादन गर्न सक्छ । यसको फाइदा हाइ अल्टीट्युट लाग्ने क्षेत्रमा यात्रा गर्दा लिन सकिन्छ ।


Back_to_top