६ लाख इलेक्ट्रीक कार बनाउने टोयोटाको घोषणा

काठमाडौं । जापानी अटोमोवाइल जाइन्ट टोयोटाले आगाी तीन वर्षमा बिक्री गर्ने विद्युतीय कारको संख्या घोषणा गरेको छ । कम्पनीले सन् २०२५ मा ६ लाख विद्युतीय कार बिक्री गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको हो ।

विद्युतीय साधनमा निकै पछाडि परेको महसुस गरिरहेको टोयोटाले केही दिनअघि मात्रै ४ प्रकारका ‘हाइटेक ईभी ब्याट्री’ बजारमा आउने समय घोषणा गरेको थियो । सन् २०२६ देखि ३० सम्ममा विश्व अटो मोवाइलमा ईभीको बलबाटै आफ्नो पहिलो स्थानको ताज बचाउने लक्ष्य टोयोटाले बनाएको देखिन्छ ।

जापानी पत्रिका निक्कीको दावलाई मान्ने हो भने टोयोटाले आफ्ना सम्पूर्ण डिलरहरुलाई तीन वर्षको विद्युतीय कार बिक्री गर्ने योजना दिइसकेको छ । कम्पनीको लक्ष्य पुरा गर्न टोयोटाको विश्वभर रहेका डिलरले काम गर्नेछन् ।

टोयोटाले सन् २०२२ मा २४ हजार मात्रै विद्युतीय कार उत्पादन गरेको थियो । त्यसपछि लगानीकर्ताको दवाव र बजारको मागलाई नजिकबाट नियाल्न थालेको टोयोटाले ईभी उत्पादन बढाउने निर्णय लिएको हो । कम्पनीले सन् २०२३ मा १ लाख ५० हजार ईभी बिक्री गर्ने लक्ष्य लिएको छ ।

त्यसैगरी कम्पनीले सन् २०२४ को लागि १ लाख ९० हजार ईभी उत्पादन गर्नेछ । जुन ठूलो चुनौती देखिदैन । तर, टोयोटाले सन् २०२४ को तुलनामा २०२५ मा भने एकै पटक ३ गुणाभन्दा बढि संख्यामा ईभी उत्पादन गर्ने योजना सार्वजनि गरेको हो ।

टोयोटाको विद्युतीय कारको बिक्री अमेरिकी र यूरोपियन बजारमा टेस्ला, फोर्ड र जनरल मोटर्सको तुलनामा एकदमै कम रहेको छ । तर, टोयोटाले आफ्नो १० नयाँ ईभी मोडलका साथै सबब्राण्ड लेक्सस समेतको सहयोगमा अमेरिकी ईभी मार्केटमा सन् २०२६ सम्ममा लिडिङ ब्राण्डलाई भेट्टाउने लक्ष्य लिएको छ ।

जापनीज पत्रिका निक्कीका अनुसार टोयोटाले आफ्नो अन्तर्राष्ट्रिय मोडलको पीकअप ट्रक हाइलक्स यसैवर्ष थाइल्याण्डबाट इलेक्ट्रीकमा सार्वजनिक गर्ने छ । आगामी वर्ष चीन र अमेरिकामा नयाँ एसयूभी समेत लन्च गर्ने जनाएको छ ।


Back_to_top