हरेक ८ वटा गाडी बिक्रीपछि एउटा डीसी चार्जर राख्छौं : विवेक बिजुक्छेको अन्तर्वार्ता

काठमाडौं । नेपालमा सबैभन्दा धेरै गाडी ब्राण्ड ल्याएर बिक्री गर्दै आएको विशाल ग्रुपले नयाँ नयाँ ब्राण्ड ल्याउने क्रम पनि जारी नै छ । फक्सवागेन, रेनो, माज्दा, मेक्सस, ग्रेटवाल मोटर्स, सुजुकी मोटरसाइकल, कोवेल्को हेभी इक्यूपमेन्टसम्म कम्पनीले नेपालमा बिक्री गर्दै आएको छ ।

अटोमोबाइलमा लामो यात्रा गरेको विशाल ग्रुपले इलेक्ट्रीक माइक्रो भ्यानको आयात पनि सुरू गरेको छ । कम्पनीले साइनरे ग्रुपकाे एसआरएम नामको ब्राण्डमा उत्पादन भएका ११ सिट क्षमताका भ्यानहरू उपलब्ध गराउन थालेको हो । पूजा कन्स्ट्रक्सन आधिकारिक बिक्रेता बनेर एसआरएमका विद्युतीय माइक्रो भ्यान नेपाल ल्याएको हो । कम्पनीले विद्युतीय गाडी बिक्री गर्ने कस्तो योजना निर्माण गरिरहेको छ । माइक्रो भ्यानको मूल्य, प्रतिकिलोमिटर लागत, चार्जिङ स्टेशन निर्माण योजना लगायत विषयमा मेरोअटोले कम्पनीका सीईओ विवेक बिजुक्छेसँग गरेको कुराकानीको सम्पादीत अंश :

तपाईंहरूले ल्याउनु भएको एसआरमको माइक्रो भ्यान कस्तो छ ?

अहिले बजारमा विद्युतीय लाइट कमर्शियल गाडीको माग बढिरहेको छ । विशेषगरी कुनै समयको चर्चित टाटा सुमोहरू २० वर्ष पुराना हुन लागेका छन् । यी डिजेल गाडीको विकल्पमा विद्युतीय माइक्रो भ्यान आएका हुन् । ११ सिट क्षमताका गाडी सुमोको उत्तम विकल्प हो ।

हामीले ल्याएको साइनरे इलेक्ट्रीक माइक्रो भ्यान पनि ११ सिट क्षमताको हो । त्यसलाई एसआरएम नामबाट हामीले ल्याएका छौं । यो चीनमा निकै राम्रो सफलता पाउन सफल मोडल हो ।

अहिले बजारमा भएका अन्य माइक्रो भ्यानभन्दा एसआरएममा के कस्ता फरक छन् ?

डीएफएसके, केवाइसी र साइनरे सबै मोडल उस्तै छन् । यी मध्ये पहिलो मोडल एसआरएम हो । चीनमा हरेक ५ वटा इलेक्ट्रीक भ्यान सडकमा देखिँदा ४ वटा साइनरे देखिन्छ । त्यसैले यो गाडी निकै परीक्षण भएको र परीक्षणपछि सफलता पाएको मोडल हो । यसलाई प्रयोग गर्नेहरूले ढुक्कसँग गर्न सक्ने अवस्था हामीले देखेका छौं ।

तर, चीनमा यसको सफलता होला । नेपालमा त डीएफएसकेको डाँफे र केवाइसी परीक्षण र बिक्री दुवैमा सफल भइसकेका छन् होइन ?

पक्कै पनि उनीहरू पहिलादेखि नै बजारमा छन् । उनीहरूको गाडी सडकमा गुडिरहेको छ । यी नै गाडीले नेपालमा माइक्रो भ्यानको बजार पनि बनाएका हुन् ।

त्यसो भए तपाईंको रणनीति के हो त ?

हामी हरेक ८ वटा गाडी बिक्रीपछि एउटा डीसी फास्ट चार्जर जडान गर्नेछौं । विद्युतीय साधनको लागि सबैभन्दा महत्वपूर्ण पूर्वाधार नै चार्जिङ नेटवर्क हो । हामीले देशभर अहिले नै १० वटा डिलर नियुक्त गरिसकेका छौं । सबै डिलरकोमा डीसी फास्ट चार्जर जडान हुनेछ ।

विभिन्न गाडी संचालन गर्ने कम्पनी र समितिलाई पनि हामीले हरेक ८ वटा गाडीको खरिदमा एउटा डीसी फास्ट चार्जर उपलब्ध गराउने भनेका छौं ।

हामीले लगाउने सबै डीसी चार्जर ३० किलोवाट क्षमताको हुनेछ । यी चार्जरले १ घन्टा भित्रै गाडी फुल चार्ज गर्नेछन् । हाइवेमा पार्किङ भएका होटल र रेष्टुरेन्टमा हामीले चार्जर राख्ने स्थान खोजिरहेका छौं ।

तपाईंले एसआरएमका गाडी सार्वजनिक यातायातमा मात्रै बिक्री गर्ने कि स्कुल, कलेज, ट्राभल कम्पनी जस्ता क्षेत्रमा पनि बिक्री गर्ने ?

स्कुलहरूमा हामीले गाडी किन नबेच्ने र ? स्कुलमा हामीले गाडी दिँदा पनि हामी हरेक गाडीसँग ७ किलोवाटको एसी चार्जर दिन्छौं । उकालोमा धेरै इनर्जी खपत हुने भएको कारण ट्राभलहरूको धेरै कन्फिडेन्ट आउन सकेको छैन । त्यसको लागि चार्जिङ पूर्वाधार विकास नै गर्नुपर्ने हुन्छ ।

स्वरोजगारमैत्री बनाउनु पर्ने विद्युतीय साधन किन्न चाहने चालकहरूलाई उचित फाइनान्स उपलब्ध गराउन सकिएको छैन । धितो राखेर गाडी किन्न सक्ने कति चालक छन् ? भन्ने कुरा हेर्नु पर्ने हुन्छ । बैंकहरूले निजी गाडी किन्न टाइ सुट लगाएर जानेलाई कर्जा दिने तर, स्वरोजगारलाई नदिने भएको कारण पनि यो सम्भव छैन ।

सेल्स र सर्भिसमा के कस्ता योजना बनाउनु भएको छ ?

हामीले देशभर १० स्थानमा डिलर निर्माण गरेका छौं । सबै डिलरमा सेल्स, सर्भिस र स्पेयर पार्टस्को उपलब्धता हामीले गरेका छौं । त्यसमा पनि हामीले कुनै पनि गाडीलाई २ घण्टा भित्रै पूर्ण सेवा दिने हाम्रो योजना छ । साथै, अन्य ब्राण्डको तुलनामा २५ देखि ३० प्रतिशत पार्टस्को मूल्य कम बनाउने हाम्रो लक्ष्य हो । यति हुँदा हामीले एक वर्षमा ३० प्रतिशत बजार हिस्सा पुर्याउने लक्ष्य लिएका छौं ।

फाइनान्स सुविधा कसरी उपलब्ध गराउनु हुन्छ ?

हामीसँग अहिले इन्भेष्टमेन्ट कम्पनी छैन । त्यसैले विभिन्न कमर्शियल बैंकहरूसँग छलफल चलिरहेको छ । चाँडै राम्रो स्कीम लिएर आउने छौं ।

 


Back_to_top