नेपालमै मोटरसाइकलपछि कार र बसको चार्जिङ नेटवर्क बनाउँदै यात्री

काठमाडौं । नेपाली स्टार्टअप कम्पनी यात्रीले आफ्नै टेक्नोलोजी प्रयोग गरेर १२० किलोवाट क्षमतासम्मको चार्जिङ नेटवर्क निर्माण गर्ने भएको छ । कम्पनीले त्यसको लागि आफुहरुले तिब्र गतिमा काम अगाडि बढिरहेको जानकारी दिएको हो ।

यात्री इनर्जी नामक कम्पनी नै खडा गरेर आफुहरुले काम गरिरहेको कम्पनीका चेयरम्यान बत्सल पाण्डेले जानकारी दिए ।

‘हामी अहिले चार्जिङ नेटवर्क निर्माणको काममा लागेका छौं । हामीले बनाउने चार्जिङ नेटवर्क ६० र १२० किलोवाट क्षमताका हुनेछन् । साथै, यहाँ सीसीएस-२ र जि/वीटी दुबै पोर्ट भएका गाडी चार्ज गर्न मिल्ने छ’, चेयरम्यान पाण्डेले भने ।

‘यूएसएड उर्जा नेपाल प्रोग्राम’ अन्तर्गत बन्न लागेको १७ वटा चार्जिङ नेटवर्क निर्माणको जिम्मा यात्री इनर्जीले पाएको हो । युवा इन्जिनियरहरुको समूहले बनाउने उक्त चार्जिङ नेटवर्क ‘स्टेट अफ आर्ट’को रुपमा रहने कम्पनीले दावी गरेको छ ।

सुरुमा उक्त कार्यक्रम अन्तर्गत दोलखाको चरिकोट, काभ्रेपलान्चोकको धुलिखेल, ललितपूरको पुलचोक, काठमाडौंको चाबहिल, धादिङको चरौदी र तनहुँको आँबुखैरेनीमा पाइलट प्रोजेक्टको रुपमा निर्माण हुनेछ ।

‘हामी चार्जिङको लागि चाहिने हाडवयर मात्रै बाहिरबाट ल्याउँछौं । अरु सम्पूर्ण कुरा हाम्रो आफ्नै हुनेछ । साथै, चार्जिङ म्यानेजमेन्ट सिस्टम समेत हामीले डेभलप गरेका छौं । यसले इलेक्ट्रीक साधन प्रयोगकर्ताले सहजै चार्जिङ सुविधा लिन सक्नु हुनेछ’, चेयरम्यान पाण्डेले भने ।

यात्री मोटरसाइकल ब्राण्ड स्थापना गरेर चर्चा कमाएको यो समूहले विद्युतीय सवारीसाधनको लागि आवश्यक पर्ने चेन निर्माणमा काम गरिरहेको छ । कम्पनीले पी-१ मोटरसाइकलको सफल उत्पादन गरिसहेको छ । त्यसैले चाँडै कम्पनीले पी-२ अन्तर्गतको प्रोजेक्ट अगाडि बढाउन लागेको जनाएको छ ।


Back_to_top