निर्वाण चौधरीले गरे इलेक्ट्रीक ब्राण्डमा ह्याट्रीक

काठमाडौं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विद्युतीय सवारीसाधनको बिक्रीमा हात हालेको छोटो समयमा नै तीन नयाँ ब्राण्डका कार नेपाल ल्याउन सफल भएका छन् ।

सम्भवत नेपालको अटोमोवाइल इतिहासमा नै २ वर्षभन्दा कम समयमा नै तीन नयाँ ब्राण्ड नेपाल ल्याउने चौधरी एक्ला ब्यवसायी हुन् ।

सन् २०२२ मा नेटा ब्राण्ड मार्फत विद्युतीय सवारीसाधनको ब्यापारमा प्रबेश गरेको सिजी मोटर्सले अहिले थप दुई नयाँ ब्राण्ड नेपाल ल्याउन आधिकारीक बिक्रेता नियुक्त भएको छ । कम्पनीले अहिले स्मार्ट इलेक्ट्रीक र जीएसी मोटर्सको आधिकारीक बिक्रेता बन्ने सम्झौता गरेको हो ।

सिजी मोटर्सले अब चिनियाँ कम्पनीले जर्मन ब्राण्ड मर्सिडिजसँगको सहकार्यमा स्थापना गरेको स्मार्ट मोटर्सका उत्पादन चाँडै नेपाली बजारमा बिक्री सुरु गर्ने तयारी गरेको छ । कम्पनीले स्मार्ट मोटर्सको ‘स्मार्ट वान’ इलेक्ट्रीक एसयूभी नेपाल ल्याउने छ ।

चीनमा जर्मन लग्जरी ब्राण्ड मर्सिडिजसँगको संयुक्त लगानीमा उत्पादन भएको स्मार्ट इलेक्ट्रीकको उत्पादन निकै राम्रो मानिन्छ । लग्जरी फिचर, आधुनिक सुरक्षा फिचर र हेर्दा नै आकर्षक लाग्ने स्मार्टका साधन नयाँ वर्ष २०२४ सँगै नेपालमा बिक्री सुरु हुने अनुमान गर्न सकिन्छ ।

सिजी मोटर्सले ग्वान्झाओ अटोमोवाइल कर्पोरेशन (जीएसी)को पनि आधिकारीक बिक्रेता लिएको छ । यसको विषयमा मेरोअटो डटकमले यसअघि नै समाचार प्रकाशित गरिसकेको छ ।

यसलाई हिजो सोमबार निर्वाण चौधरीको फेसबुक पेजमा पोष्ट भएको जीएसी एवोन ब्राण्डको जीटी मोडलको तस्विर पोष्ट भएबाट पनि पुष्टि हुन्छ । कम्पनीले कुन मितिबाट जीएसी एवोनको बिक्री सुरु गर्छ, त्यसको जानकारी भने दिएको छैन ।

सम्भवत आगामी नयाँ वर्षबाट एवोन ब्राण्डका विद्युतीय साधन पनि नेपाल आउने छन् । सिजीले यसअघि बिक्री गर्दै आएको होजोन मोटर्सको नेटा भी मोडल अहिले बिक्री गर्दै आएको छ । कम्पनीले नेटा यू प्रो मोडलको बुकिङ पनि अहिले लिइरहेको छ ।

विद्युतीय साधनमा सिजीको यात्रा यहि रोकिने देखिदैन । कम्पनीले लाइट कमर्शियल भेहिकल सेग्मेन्टमा केवाइसी र किङलङ ब्राण्डका ११ सिट क्षमताका माइक्रो भ्यान पनि बिक्री गर्दै आएको छ । केवाइसीका विद्युतीय माइक्रो भ्यान निकै राम्रो संख्यामा बिक्री हुँदै आएका छन् ।


Back_to_top