काठमाडौं । ट्राफिक प्रहरीले सडक नियम उल्लंघन गर्नेहरू विरुद्ध कारबाही तीव्र बनाएको छ । ट्राफिक चेकिङ तीव्र पारिएसँगै जरिवाना रकम पनि उल्लेख्य वृद्धि भएको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार पुसमा ट्राफिक कारबाहीबाट जरिवाना रकम १२.४५ प्रतिशतले बढेको छ ।
पुसमा ट्राफिक कारबाहीबाट ८ करोड ४ लाख १३ हजार ६७८ रुपैयाँ बराबर राजस्व याेगदान भएकाे छ । यो मंसिरको तुलनामा ८९ लाख रुपैयाँ धेरै हो । मंसिरमा ट्राफिक कारबाहीबाट कुल ७ करोड १५ लाख ९३ हजार ४५२ रुपैयाँ जरिवाना भएको थियो ।
पुस महिनामा ट्राफिक प्रहरीले कुल ८८ हजार ९६९ सवारी साधनलाई कारबाही गरेको छ । जेनजी आन्दोलनपछि केही समय सुस्त भएको ट्राफिक चेकिङ पछिल्लो समय तीव्र पारिएको छ । चेकिङमा कडाइ गरिएसँगै राजस्व पनि महिनैपिच्छे बढ्दो क्रममा छ ।पछिल्लो दिनमा कारबाही तीव्र पारिएकाले आगामी महिनामा राजस्व बढ्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
असोजमा ट्राफिक कारबाहीबाट ३ करोड १३ लाख ७३ हजार ५०९ रुपैयाँ राजस्व उठेको थियो भने कात्तिकमा बढेर ४ करोड ९७ लाख ४५ हजार ६६१ रुपैयाँ पुगेको थियो ।
आन्दोलन अघि भने मासिक औसतमा ९ करोड रुपैयाँ बढी राजस्व उठ्दै आएको थियो । गत असारमा १२ करोड ८ लाख र साउनमा मात्रै १० करोड ८८ लाख राजस्व संकलन भएको थियो ।
ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन, जथाभावी हर्न बजाउने, ओभरटेक गर्ने, लेन क्रस गर्ने, ओभरलोड बोक्ने, तोकिएका कागजात नबोक्ने, सवारी जाँचपास नगर्ने लगायतलाई कारबाही गरी जरिवाना तिराउँदै आएको छ ।

