सिप्रदी, ट्राफिक र नाडाको सहकार्यमा सडक सुरक्षा कार्यक्रम

काठमाडौं । सिप्रदी ट्रेडिङ, नाडा र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा सुरक्षित सडक अभियान सुरु भएको छ ।

सडक सुरक्षा तथा सवारी सम्बन्धी बृहत ज्ञान प्रदान गरी सडक दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यका साथ यही असोज ११ गतेदेखि राजधानीमा सो अभियान प्रारम्भ गरिएको हो । 

पहिलो चरणको कार्यक्रम चापागाउँ–लेलेबाट शुरु गरिएको थियो । उक्त कार्यक्रममा चापागाउँ–लेलेका १०५ जना टिपर चालकहरुलाई ललितपुर ट्राफिक प्रहरी महाशाखा प्रमुख इन्स्पेक्टर सिताराम हाछेथु, सिप्रदीका इन्जिनियर, तालिम प्रबन्धक र महानगरीय ट्राफिक कार्यालयका प्रतिनिधिद्वारा व्यावहारिक विषय वस्तुमा आधारित सडक सुरक्षा तालिम दिइएको थियो ।

कार्यक्रममा उपस्थित ट्रक–टिपर चालक, व्यवसायी, यातायात कर्मचारी सम्पूर्ण ग्राहकलाई धन्यबाद दिदै सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत तथा नाडाका सडक सुरक्षा र इमिसन मापदन्ड कमिटिका सभापति  राजन बाबु श्रेष्ठले आफू नाडाको प्रतिनिधि भएको र नाडाको तर्फबाट समेत सडक सुरक्षा र वातावरणको प्रतिनिधित्व गर्दै अगाडि बढ्ने बताए । आगामी दुई वर्षमा यस्ता कार्यक्रमको क्यालेन्डर नै बनाएर कामगर्ने उनको दाबी थियो । 

‘सडक सुरक्षा केवल ट्राफिक र सरकारको मात्र नभई सबैले जान्ने, बुझ्ने र अपनाउनु पर्ने कुरा हो र यस सडक सुरक्षासँग सम्बन्धित विभिन्न योजना र कार्यक्रम नेपाल सरकार, महानगरीय ट्राफिक प्रहरी महाशाखा र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) सँग सहकार्य गर्दै अगाडि बढ्ने छौ’ श्रेष्ठले भने । यो अभियान आगामी दिनमा राजधानीलगायत देशभरि विभिन्न स्थानमा गर्दै जाने उनले जानकारी दिए ।


Back_to_top