काठमाडौं । अब नेपाल र भारत बीच निकासी गरिने वस्तुको अग्रिम सूचना आदन प्रदान गरिने भएको छ ।
बुधबार नयाँदिल्लीमा भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र भारतका तर्फबाट केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड अध्यक्ष विवेक चतुर्वेदीले दुई देश बीच निकासी गरिने वस्तुको अग्रीम रुपमा तथ्यांक आदान(प्रदान गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतासँगै अब दुवै देशबाट निकासी हुने वस्तु अर्को देशमा पुग्नु अगावै सम्बन्धित भन्सार कार्यालयलाई सूचान दिइने छ । यसले कर छली रोक्नुका साथै सही कारोबार गर्ने व्यवसायीलाई थप सहजीकरण गरी भन्सार जाँचपास छिटो, छरितो र सहज बनाउन सहयोग पुग्नेछ ।
सम्झौता अनुसार राष्ट्रिय कानुनले तोकेको सीमाभित्र रही विद्युतीय माध्यमबाट निकासी तथ्यांक आदान-प्रदान गर्ने, सूचना उपयोग समझदारीपत्र अनुकूल मात्र गर्ने, समझदारीपत्रको कार्यान्वयनका लागि सम्पर्क अधिकारी तोकिने छ ।
दुवै पक्षबीच समझदारी भएर तोकिएका वस्तमा नमूनाका रूपमा कार्यान्वयन गरी तत्पश्चात सबै वस्तुमा लागू गर्ने, समझदारीपत्रमा उल्लेखित विषय कार्यान्वयनमा विवाद भए आपसी सहमतिमा कूटनीतिक माध्यमबाट समाधान गर्ने तथा आपसी समझदारीमा समझदारीपत्रमा संशोधन समेत गर्न सकिने प्रावधान छन् ।
त्यस्तै, जोखिम विश्लेषण मार्फत भन्सार नियन्त्रण र व्यापार सहजीकरण थप प्रभावकारी बनाउने, भन्सार प्रक्रियामा लाग्ने समय कम गर्दै सुरक्षित अन्तर्राष्ट्रिय व्यापार सुनिश्चित गर्ने समझदारीपत्रमा उल्लेख छ ।
विभागका महानिर्देशक भण्डारीले भारतीय पक्षलाई धन्यवाद दिँदै सम्झौतालाई जतिसक्दो छिटो कार्यान्वयनमा लैजान जोड दिए । यसले दुवै देशको भन्सार प्रशासनबीचको सम्बन्ध थप बलियो बनाउन सहयोग पुग्ने तथा निकासी हुने वस्तु आगमनपूर्व तथ्यांक आदान-प्रदानबाट जोखिम विश्लेषण मार्फत जोखिम देखिएका वस्तुलाई निगरानी तथा नियमन गर्न सहज हुने उनले बताए ।
बोर्ड अध्यक्ष चतुर्वेदीले भारतले नेपालसँग यस्तो समझदारीपत्रमा हस्ताक्षर गरेकोमा खुसी व्यक्त गर्दै उक्त समझदारीपत्रको शीघ्र कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरे ।
वस्तु आगमनपूर्व सूचना आदान-प्रदान गर्दै जोखिम व्यवस्थापन मार्फत व्यापार सहजीकरण गर्न प्रमुख व्यापारिक साझेदार मुलुकबीच निकासी गरिने वस्तुको अग्रिम तथ्यांक आदान-प्रदान गर्ने अन्तर्राष्ट्रिय अभ्यास रहँदै आएको भन्सार विभागले जनाएको छ ।

