काठमाडौं । सडक छेउमा बाइक तथा कारहरु पार्किङ गरेर यता उता लाग्ने गर्नु भएको छ भने अबदेखि तपाईको बाइकलाई ट्राफिक प्रहरीले ह्वील लक गरेर छाडिदिने छन् । ट्राफिक प्रहरीले मात्रै होइन महानगरपालीकाले पनि यसरी पार्किङ गरेर राखेको ठाँउमा नै सवारीसाधनलाई ताला लगाई दिन सुरु गरेको छ ।
यसरी ह्वील लक लगाएर ट्राफिक प्रहरी गएपछि बाइक तथा सवारीसाधन धनीलाई कहाँ र कसलाई फोन गर्दा लक खुल्छ भन्ने समस्या पर्ने गरेको देखिएको छ । त्यसको लागि ट्राफिक प्रहरीको फोन नम्बर १०३ मा फोन गरेर जानकारी गराउनु पर्ने उपत्यका ट्राफिक कार्यलयले जनाएको छ ।
‘अहिले ट्राफिक प्रहरी र महानगरपालीकाले जथाभाबी सडकमा पार्किङ गरिएका सवारी साधनमा ह्वील लक लगाउने गरेको छ । अहिले सवारी साधनधनीमा कहाँ र कसलाई फोन गर्ने भन्ने अन्योलता देखिएकाले हामी एउटा स्टीकर बनाउँदै छौँ’ उपत्यका ट्राफिक प्रहरी प्रबक्ता जयराज सापकोटाले भने ।
यसरी ट्राफिकले बनाउने स्टीकरमा तपाईको सवारीसाधन लक गरीएको छ, खोल्नको लागि ट्राफिक प्रहरीको नम्बर १०३ मा कल गर्नुहोला भनेर लेखिने छ । सापकोटाले मेरोअटोसँग भने ।
अहिले दैनिक १८०० चालक ट्राफिक नियम उल्लंघनको कारवाहीमा पर्दै आएको जानकारी दिर्दै सापकोटाले भने ‘जथाभाबी पार्किङ गर्ने करिब १५० सवारीसाधन दैनिक कारवाहीमा पर्दै आएका छन् ।’
यसरी सडक वा पेटी मिचेर पार्किङ गरिएको सवारीसाधन कारर्वाहीमा पर्दा एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने छ । जरिवानासँगै समय पनि खर्च हुनेछ । नजिकैको ट्राफिक प्रहरी वीटले कारवाही गरेको छ भने १० मिनेटमा बाइक खेलिदिने छ भने ट्राफिक प्रहरीको टीआरएस टिमले ह्वील लक गरेको रहेछ भने ३० मिनेटसम्म लाग्न सक्ने सापकोटाले जानकारी दिए ।

