काठमाडौं । ट्राफिक प्रहरीले आइतबार एकैदिन १७५ राइड सेयरिङ चालकलाई कारबाही गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौंका विभिन्न स्थानमा राइड सेयरिङ सम्बन्धी विशेष चेकिङ अभियान संचालन गर्दै नियम विपरीग गतिविध गर्ने चालकहरूलाई कारबाहीको दायरमा ल्याएको हो ।
कार्यालयका अनुसार अनलाइन अनुमति बिना अफलाइन रूपमा सवारी संचालन गर्ने, जथाभावी पिक एण्ड ड्रप गर्ने, सवारी साधनको अवस्था मापदण्डअनुसार नभएका लगायतलाई कारबाही गरिएको हो ।
राइड सेयरिङका यस्ता गतिविधिहरूले सडक सुरक्षा र यातायात व्यवस्थापनमा नकारात्मक प्रभाव पार्ने प्रहरीको भनाइ छ । यस्ता गतिविधि गर्नेलाई आगामी दिनमा पनि कडाइका साथ निगरानी तथा कारबाही गरिने प्रहरीले जनाएको छ ।
साथै, ट्राफिकले सुरक्षित, व्यवस्थित तथा नियम अनुसार सवारी संचालन गर्न, ट्राफिक नियमको पालना गरी दुर्घटना न्यूनीकरण गर्न सबैमा आग्रह समेत गरेको छ ।

