ट्रायम्फको स्पीड ४०० मोटरसाइकलको मूल्य बढ्ने

काठमाडौं । ट्रायम्फको स्पीड ४०० मोटरसाइकलको मूल्य वृद्धि हुने भएको छ ।

ट्रायम्फको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले भदौ १५ गतेदेखि लागू हुने गरी ट्रायम्फको स्पीड मोटरसाइकलमा १० हजार रुपैयाँले मूल्य बढाउने भएको हो ।

हाल ६ लाख ४९ हजार ९०० रुपैयाँमा बिक्री हुँदै आएको ट्रायम्फ स्पीड मोटरसाइकलको मूल्य भदौ १५ देखि ६ लाख ५९ हजार ९०० रुपैयाँ पुग्ने भएको हो ।

भारतमा ट्रायम्फ स्पीड ४०० मोटरसाइकलको मूल्य बढेसँगै कम्पनीले नेपालमा पनि बढाउने भएको हो । नेपालमा ट्रायम्फ स्पीड ४०० सार्वजनिक भएपछि दोस्रो पटक कम्पनीले मूल्य बढाएको हो । नेपाली बजारमा ट्रायम्फ स्पीड ४०० गत वर्ष भदौमा सार्वजनिक भएको थियो ।

हाल बजारमा ट्रायम्फको स्पीड ४०० र स्क्रयाम्बलर ४०० एक्स दुई मोडलको मोटरसाइकल उपलब्ध रहेको छ ।

यस्तो छ ट्रायम्फ स्पीड ४०० मोटरसाइकल

स्पीड मोटरसाइकलमा ३९८.१५ सीसीको सिंगल सिलिण्डर, फोर भल्ब, लिक्विड कुल्ड, डीओएचसी, एफआई, युरो ५ कम्प्लाइन्टको इन्जिन पाउन सकिन्छ । यस इन्जिनले अधिकतम ४० पीएस पावर तथा ३७.५ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स र टर्क एसिस्ट क्लच पनि दिएको छ ।

स्पीड ४०० मा सेमि डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, स्वीचेबल ट्रयाक्सन कन्ट्रोल, पूरा एलईडी लाइट सेटअप, राइड बाई वायर थ्रोटल, इमोबिलाइजर, टाइप सी यूएसबी चार्जिङ पोर्ट, डबल च्यानल एबीएस, अपसाइड डाउन फर्क र ग्यास मोनोसक सस्पेन्सन लगायत फिचरहरू छन् ।


Back_to_top