नेपाल आयो हाइब्रिड पीकअप, लग्जरीको लागि एसयूभी जस्तै

काठमाडौं । पीकअप नेपाली बजारको लागि नयाँ होइन । तर, लग्जरी पीकअप अहिले विश्वभर चर्चामा रहेको सवारी साधनमा पर्छ ।

अमेरिका, एशिया र युरोपमा पनि पीकअपको बजार निकै ठूलो छ । यही बजारमा विभिन्न कार निर्माता कम्पनीहरूले पीकअप उत्पादनलाई जोड दिँदै आएका छन् । यही ट्रेन्ड पच्छाउँदै फोटोनले टुनल्याण्ड सिरिजमा नयाँ पीकअप ‘भी-९’ नेपाली बजारमा ल्याएको छ ।

नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले ‘टुनल्याण्ड भी-९’ नेपाल ल्याएको हो । कम्पनीले आधिकारिक बिक्री सुरू नगरेको भी-९ एक फुलसाइज पीकअप हो ।

टुनल्याण्ड भी-९को टोइङ क्षमता ३.५ टन रहेको छ । उक्त क्षमताले नै यसको साइजलाई पुष्टि गर्छ । पीकअपको लम्बाइ ५६१७ एमएम, चौडाइ २००० एमएम र उचाइ १९१० एमएम छ । यसमा निकै लामो ३३५५ एमएमको ह्वीलबेस पाउन सकिन्छ ।

फोटोनले टुनल्याण्ड भी-९ पीकअपमा २४० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स दिएको छ । गाडीलाई जस्तोसुकै बाटोमा पनि प्रयोग गर्न सकियोस् भनेर ब्रेक ओभर एङ्गल २१ डिग्री, अप्रोच एङ्गल २८ डिग्री र डिपार्चर एङ्गल २६ डिग्री दिएको छ ।

निकै बोल्ड र रेगेड डिजाइनमा तयार भएको टुनल्याण्ड भी-९ पीकअपलाई ७०० एमएम गहिरो पानी भएको स्थानमा पनि सजिलै चलाउन सकिन्छ । यसमा फोर बाइ फोर सिस्टम छ । १८ इन्चको मल्टी टेरेन टायर प्रयोग भएको कारण चालकले निकै राम्रो ह्याण्डलिङ पाउन सक्छ ।

पीकअपको अगाडिको भाग पनि आक्रमक डिजाइनमा तयार पारिएको छ । निकै ठूलो फ्रन्ट ग्रिल दिइएको टुनल्याण्ड भी-९ पीकअपमा ‘स्ट्रीक क्वाड एलईडी हेडल्याम्प’ दिइएको छ । पछाडि मल्टी लिङ्क रिजिड एक्सेल र अगाडि डबल बिस्वोन टाइप सस्पेन्सन यसमा प्रयोग भएको छ ।

गाडीको क्याबिन पनि कुनै एसयूभीभन्दा कम छैन । निकै लग्जरी सिट उपलब्ध पीकअपको ड्यासबोर्डमा १४.६ इन्चको स्क्रीन, वायरलेस कनेक्टिभिटी, लग्जरी क्याबिन पाउन सकिन्छ । सुरक्षाको लागि एयरब्यागसँगै अन्य फिचरहरू दिइएको छ ।

टुनल्याण्ड भी ९ पीकअपमा ४८ भोल्ट माइल्ड हाइब्रिड सिस्टम उपलब्ध छ । भी-९ पीकअपमा २.० लिटर टर्बो डिजेल इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ३६०० आरपीएममा १६३ पीएस पावर प्रदान गर्छ । यसले १५०० देखि २४०० आरपीएममा ४५० न्युटन मिटर टर्क प्रदान गर्छ ।

एमएडब्लू वृद्धिले अहिले परीक्षणकै क्रममा रहेको र चाँडै मूल्य घोषणा गरेर बिक्री थाल्ने जानकारी दिएको छ ।


Back_to_top