काठमाडौं । नेपाली स्कुटर बजार (पेट्रोलबाट चल्ने)मा लिडर बन्न टीभीएस र होण्डा बीच कडा प्रतिस्पर्धा देखिएको छ । सन् २०२५ को तीन महिना (जनवरी-मार्च)को आयात तथ्यांक अनुसार यी दुई ब्राण्ड बीच कडा टक्कर देखिएको हो ।
सन् २०२५ को ३ महिनामा पेट्रोलबाट चल्ने ६ ब्राण्डका कुल १३ हजार २३ युनिट स्कुटर आयात भएको छ । जसमा ४ हजार ९२० युनिटसहित टीभीएस शीर्ष स्थानमा रहेको छ । विगत २ वर्ष यता पछि धकेलिएको टीभीएस सन् २०२५ मा आफूलाई कमब्याक गर्दै पहिलो स्थानमा उक्लिएको हो ।
टीभीएसले बजारमा एनटर्क १२५ ल्याएसँगै लगातार २ वर्षसम्म नेपालमा सर्वाधिक बिक्री हुने स्कुटर ब्राण्डको ताज चुमेको थियो । पछिल्लो समय होन्डाले डिओ १२५ र यामाहाले रेजेडआ १२५ ल्याएसँगै एनटर्कको बिक्रीमा कमी आएको थियो । तर, टीभीएसले यस वर्ष प्रतिस्पर्धीलाई पछि पार्दै फेरि आफूलाई लिडरको रूपमा उभ्याएको छ ।
टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ३ महिनामा टीभीएसको एनटर्क ४ हजार ६४० र २८० युनिट जुपिटर ११० नेपाल भित्र्याएको छ । कम्पनीले नयाँ जुपिटर ११० भने केही दिन भित्रमै नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
टीभीएसलाई कडा टक्कर दिँदै होन्डा स्कुटर आयातमा दोस्रो स्थानमा रहेको छ । होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले ३ महिनामा ४ हजार ६४० युनिट स्कुटर नेपाल भित्र्याएको छ । जुन पहिलो स्थानको टीभीएसको भन्दा २४५ युनिट मात्र कम हो ।
स्कुटर आयातमा टीभीएस र होन्डा बीच कडा टक्कर देखिए पनि तेस्रो स्थानमा रहेको यामाहा भने दौडमा निकै पछि छ । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू राइडले ३ महिनामा कुल २ हजार ४४५ युनिट स्कुटर नेपाल भित्र्याएको छ । जसमा ३० युनिट फसिनो र २ हजार ४१५ युनिट रेजेडआर रहेको छ ।
त्यसैगरी, ५२५ युनिट स्कुटर आयात गर्दै हिरो चौथो नम्बरमा रहेको छ । हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी सीजी मोटर्सले हिरो जुम स्कुटर नेपालमा बिक्री गर्दै आएको छ ।
आयातका आधारमा भेष्पा/अप्रिलिया पाँचौं स्थानमा रहेको छ । ३ महिनामा भेष्पा/अप्रिलियाका कुल ४४० युनिट स्कुटर भित्रिएका छन् । जसमा भेष्पा १७५ युनिट र अप्रिलिया २६५ युनिट रहेको छ ।
त्यस्तै, सन् २०२५ को ३ महिनामा प्युजो ब्राण्डका १८ युनिट स्कुटर भित्रिएका छन् ।