टीभीएस मोटरले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर भारतीय बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । मिडिया रिपोर्टका अनुसार, कम्पनीले उक्त स्कुटरलाई २०१९ मा सार्वजनिक गर्ने अनुमान गरिएकको छ । यद्यपी कुन समयमा सार्वजनिक गर्ने भन्नेबारे कम्पनीले केही बताएको छैन ।
कम्पनीले उक्त इलेक्ट्रीक स्कुटरलाई क्रिओन कन्सेप्टमा निर्माण गरेको हो । जुन अटो एक्सपो–२०१८ मा सार्वजनिक गरिएको थियो ।
क्रिओन कन्सेप्टमा लिथियम–आयोन ब्याट्री प्रयोग गरिने यो स्कुटरमा जडान भएको इलेक्ट्रीक मोटरले १६ बीएचपी पावर दिन्छ । यसले ० देखि ६० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन ५.१ सेकेन्ड मात्र लगाउने कम्पनीले दाबी गरेको छ । त्यस्तै, यसले सिंगल चार्जमा ८० किलोमिटर रेन्ज प्रदान गर्छ । फास्ट चार्जिङ सुविधामार्फत एक घन्टामा ८० प्रतिशत ब्याट्री चार्ज हुने कम्पनीको भनाई रहेको छ ।
क्रिओनमा टीएफटी स्क्रृन उपलब्ध हुनेछ, जसबाट ब्याट्री चार्ज तथा ब्याट्रीको अवस्थालगायतका अन्य विभिन्न जानकारीहरु हेर्न सकिने छ । टीभीएसले इन्टेलसँगको सहकार्यमार्फत क्रिओनमा क्लाउड सर्भिस, स्मार्टफोन इन्टेग्रेसन, पार्किङ एसिस्ट, राइडिङ मोड, एन्टी–थिफ्ट सेफ्टी फिचर दिने जनाएको छ ।
क्रिओनमा पार्किङ एसिस्ट, फरवार्ड मुभिङ एसिस्ट, रिभर्ज एसिस्ट तथा ब्रेकको प्रयोगविना नै रोकिनका लागि स्ट्यान्ड स्टील पनि उपलब्ध हुनेछ ।
यस इलेक्ट्रीक स्कुटरको सिटमुनी फुल–फेस हेलमेट राख्न मिल्ने स्पेस दिइने छ भने सिंगल च्यानल एबीएसमा उपलब्ध हुनेछ ।


