टीभीएसको इलेक्ट्रीक स्कुटर ‘आइक्यूव’ भारतमा सार्वजनिक, यस्तो छ मूल्य

टीभीएस मोटर्स इन्डियाले भारतमा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको आफ्नो पहिलो स्कुटरको मूल्य १ लाख १५ हजार भारु तोकेको हो ।

बजाजले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको १० दिनपछि नै टीभीएसले आफ्नो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो ।

इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्दै टीभीएसका चेयरम्यान भेनु श्रीनिवासनले कम्पनीले हरेक महिना १००० यूनिट इलेक्ट्रीक स्कुटर उत्पादन गर्ने जानकारी दिए ।

उनले कम्पनीले प्रयोग गरेको व्याट्री, सफ्टवयर, टेक्नोलोजी सबै भारतमा तयार भएको जानकारी दिए ।

कम्पनीले ४.४ किलोवाट क्षमताको व्याट्री प्याक दिएको छ भने एक पटकको फुलचार्जमा ७५ किलोमिटर चलाउन सकिने जानकारी दिएको छ ।

आइक्यूवको टप स्पीड क्षमता ७८ किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा थुप्रै कनेक्टीभीटी फिचर उपलब्ध रहेको छ । यसमा चालकले स्मार्टफोन कनेक्टीभिटी पाउने छन् भने रिभर्स गियरसमेत दिइएको छ ।

रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसहित आएको यो स्कुटरले ० देखि ४० किलोमिटरको स्पीड ४.२ सेकेन्डमा पाउने जनाइएको छ ।


Back_to_top