टीभीएस आईक्यूव र एथर ४५० एक्समा टक्कर

काठमाडौं । भारतको चर्चित इलेक्ट्रीक स्कुटर एथर ४५० एक्स तीन दिनपछि नेपालमा बिक्री सुरु हुँदैछ । बैद्य इनर्जीले नेपाल ल्याएको एथर ब्राण्ड नोभेम्बर ५ तारिखमा सार्वजनिक हुन लागेको हो ।

एथर ४५० एक्स भारतमा जस्तै नेपालमा पनि दुई ब्याट्री अप्सनमा आउने छ । इलेक्ट्रीक स्कुटरमा भारतकै चर्चित स्टार्टअप कम्पनी नेपाल आएसँगै यसको सिधा प्रतिस्पर्धा टीभीएसको इलेक्ट्रीक स्कुटर आईक्यूवसँग हुने देखिन्छ ।

यदि तपाई यी दुई भारतीय निर्माताले बनाएको स्कुटर मध्ये कुनै एक किन्ने योजनामा हुनुहुन्छ भने हामी तपाईलाई छनोट गर्न सहज बनाउने प्रयास गर्छौ ।

त्यसैले यी दुई ब्राण्डका इलेक्ट्रीक स्कुटर एथर ४५० एक्स र टीभीएस आइक्यूव बीच रहेका भिन्नता यहाँ प्रस्तुत गरेका छौं ।

ब्याट्री प्याक

एथर ४५० एक्स दुई ब्याट्री अप्सनमा उपलब्ध छ । कम्पनीले २.९ र ३.७ किलोवाट आवरको दुई ब्याट्री अप्सन दिएको छ ।

टीभीएस आईक्यूव एउटा मात्रै ब्याट्री अप्सनमा उपलब्ध छ । कम्पनीले यसमा ३.४ किलोवाट आवरको ब्याट्री दिएको छ । यी दुबै स्कुटर बजारमा उपलब्ध अन्य धेरै स्कुटरभन्दा ठूलो ब्याट्री साइज भएको स्कुटर हुन् ।

मोटर पावर

टीभीएस आइक्यूवमा ४.४ किलोवाटको बीएलडीसी हब माउन्टेड मोटर छ । यसले अधिकतम टर्क ३३ एनएम प्रदान गर्छ । यसको टप स्पीड पावर मोडमा ७८ किलोमिटर र इको मोडमा ४५ किलोमिटर पाउन सकिन्छ ।

एथर ४५० एक्समा ६ किलोवाट पावरको मोटर छ । यसले अधिकतम २६ एनएम टर्क जेनेरेट गर्छ । यसको टप स्पीड क्षमता ९० किलोमिटर प्रतिघण्टा छ । यसको वेस मोडको टप स्पीड भने ७२ किलोमिटर प्रतिघन्टा रहेको छ ।

पावर र पर्फमेन्समा एथर ४५० एक्स टीभीएस आइक्यूबभन्दा निकै अगाडि देखिन्छ ।

रेन्ज

कम्पनीको दावी अनुसार एथरको २.९ किलोवाट ब्याट्रीले ९० किलोमिटर र ३.७ किलोवाट ब्याट्रीले १५० किलोमिटरसम्म रेन्ज प्रदान गर्छ । तर, सडक अवस्था अनुसार यसको रेन्ज तलमाथि हुने कम्पनीको भनाई छ ।

टीभीएस आइक्यूवले एक पटकको फुल चार्जमा ईको मोडमा १०० किलोमिटर र पावर मोडमा ७५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ । रेन्जमा पनि टीभीएसको तुलनामा एथर अगाडि देखिन्छ ।

सस्पेन्सन र ब्रेकिङ

एथर ४५० एक्समा टेलिस्कोपीक फर्क र सेमीट्रीकल्ली माउन्टेड प्रोगरेसीभ मोनोसक र ट्युवलेस टायर रहेको छ । ब्रेकिङका लागि यसमा ड्यूल डिस्क ब्रेक छ । जुन कम्बाइन ब्रेकिङ सिस्टमसँग आउँछ ।

टीभीएस आइक्यूवमा भने टेलिस्कोपीक फर्क र ट्वीन हाइड्रोलिक हब्जर्वर दिइएको छ । यो स्कुटरमा ट्युवलेस टायर अगाडि डिस्क र पछाडि ड्रम ब्रेक छ ।

दुबै स्कुटरमा रिजेनेरेटीभ ब्रेकिङ सिस्टम पाउन सकिन्छ । यसको सहायताले ओरालाेमा स्कुटरमा रहेको ब्याट्री रिचार्ज गर्न सकिन्छ ।

फिचर

फिचरको कुरा गर्नु पर्दा आइक्यूवमा ७ इन्च टिएफटी डिस्प्ले, बीएमएस कट्रोलर, एलइडी लाइट, स्मार्ट कनेक्ट फिचर, राइडिङ र रिभर्स मोड, यूएसबी चार्जिङ पोर्ट, एन्टिथेप्ट अर्लाम, १७ लिटर अन्डर सीट स्टोरेज छन् ।

त्यसैगरी, एथर ४५० एक्समा ७ इन्चकै टिएफटी टच डिस्प्ले रहेको छ । फोरजी कनेक्टीभीटी, फर्क एसिस्ट, अटो होल्ड, साइड स्ट्यान्ड सेन्सर, अटो इन्डिकेटर कटअफ, इमर्जेन्सी स्टप सिग्नल, फलसेफ, रिभर्स गियर, २२ लिटर अन्डर सीट स्टोरेज पाउन सकिन्छ । एथरले यसमा टचएवल डिस्प्ले दिएको छ ।

मूल्य

टीभीएसको नेपालमा आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले आइक्यूवको मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ कायम गरेर बिक्री गर्दै आएको छ ।

बुकिङ सुरु भइसकेको एथर ४५० एक्सको सर्ट रेन्ज भर्सनको मूल्य ३ लाख ८५ हजार रुपैयाँ र लङ रेन्ज भर्सनको मूल्य ४ लाख २० हजार रुपैयाँ निर्धारण गरेको छ ।

निष्कर्ष

दुबै स्कुटर निकै स्पोर्टी देखिन्छ । अझ एथर ४५० एक्स हाइ पर्फमेन्स स्कुटर भनेर भारतमा चर्चित छ । तर, नेपाली सडकमा यसले कस्तो पर्फमेन्स गर्छ, त्यो हेर्न भने केही महिना कुर्नु पर्ने हुन्छ ।

टीभीएसको उत्पादन भारतसँगै नेपालमा पनि ग्राहकको राम्रो प्रतिक्रिया पाउन सफल भएको छ । मूल्यको हिसाबले एथर ४५० एक्सभन्दा महंगो हुँदा आइक्यूवले केही कठिनाई भेग्नु पर्ने हुनसक्छ । अन्यथा यी दुबै मोडलमा आफ्नो रुची अनुसारको ब्राण्ड र स्टाइल ग्राहकले छनोट गर्न सक्नेछन् ।


Back_to_top