काठमाडौं । विद्युतीय सावरीसाधनको बढ्दो प्रयोगसँगै म्यानुअल गियरबक्सको युग समाप्त हुने अनुमानको ठिक विपरित दिशामा टोयोटाले काम थालेको छ । कम्पनीले इलेक्ट्रीक भेहिकलमा म्यानुअल गियर परिक्षणसमेत सुरु गरिसकेको हो ।
प्रायः पेट्रोलियम पदार्थबाट चल्ने कारहरुमा अटोमेटीक गियरबक्स आउन थालेको समयमा टोयोटा भने ईभीमा समेत म्यानुअल गियरको विकास गरिरहेको हो । यसले म्यानुयल गाडी मनपराउनेहरुलाई भने पक्कै खुसी बनाएको हुनुपर्छ ।
टोयोटाले केहि दिनअघि मात्रै जापानको सिमोयामा टेक्नीकल सेन्टरमा ‘लेक्सस यूएक्स क्रसओभर’ मोडलमा म्यानुअल गियर दिएर परिक्षण गरिरहेको बताइन्छ ।
टोयोटाले यसको लागि इन्जिनियरको समूहनै बनाएर परिक्षण थालेको हो । कम्पनीका अनुसार उक्त म्यानुअल गियरबक्स सिस्टम विकास भएको केहि वर्ष अगाडि नै हो । सुरुदेखि नै यसको निरन्तर परिक्षण भइरहेको कम्पनीको भनाइ छ ।
टोयोटाको यो म्यानुअल टेक्नलोजी ग्यासोलिनबाट ईभीमा फिफ्ट हुन चाहने तर कहिले पनि अटोमेटीक गाडी नचलाएका वा चलाउन नचाहने चालकहरुलाई लक्षित गरि बनाइएको हो ।
जापानी अटोमोवाइल जाइन्ट टोयोटाले यो प्रविधि लेक्ससमा परिक्षण गरेता पनि कुन मोडलमा दिएर बजारमा ल्याउने छ भन्ने विषयमा कुनै जानकारी दिएको छैन ।


