काठमाडौं । बजाज र टीभीएस अहिले राम्रा प्रतिस्पर्धी हुन् । दुबै ब्राण्डले कम मूल्यमा उत्कृष्ट मोटरसाइकल उपलब्ध गराउँदै आएका छन् ।
टीभीएसले १६० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल नेपाल ल्याउने भएको छ । कम्पनीले अपाचे RTR 160 4v को स्पेशल एडिशन नेपाल ल्याउन लागेको हो ।
बजाज पल्सर N160 एक वर्षअघि नै नेपाल आएको हो । नयाँ जेनेरेशन पल्सरको रुपमा आएको N160 र टीभीएस अपाचे RTR 160 4v एक अर्काका मुख्य प्रतिस्पर्धी मोडल हुन् ।
यी दुई प्रतिस्पर्धी मोडल बीच रहेका भिन्नताले नै ग्राहकलाई कुन मोटरसाइकल किन्ने भन्ने निर्णय लिन सहज हुन्छ । त्यसकारण हामीले टीभीएसको अपाचे RTR 160 4v स्पेशल एडिशन र बजाज N160 मोटरसाइकल बीच के कस्ता भिन्नताहरु छन् भन्ने कुरा केलाउने प्रयास गरेका छौं ।
इन्जिन
मोटरसाइकलमा सबैभन्दा महत्वपूर्ण मानिने इन्जिन हो । यी दुबै मोटरसाइकलमा रहेका इन्जिन लगभग समान छन् ।
अपाचे RTR 160 4v स्पेशल एडिशनमा १५९ सीसी क्षमताको सिंगल सिलिण्डर, आयलकूल्ड, फ्युल इन्जेक्सन, फोर स्ट्रोक, एसओएचसी आरटीएफआई इन्जिन छ । उक्त इन्जिनले अधिकतम १७.५५ ब्रेकहर्स पावर र १४.७३ एनएमको टर्क जेनेरेट गर्छ ।

बजाज पल्सर एन १६० मा १६४.८२ सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक, आयल कूल्ड, एसआएचसी ट्वीन स्पार्क एफआई बीएस ६ इन्जिन छ । यो इन्जिनले अधिकतम १६ ब्रेकहर्स पावर र १४.६५ एनएमको टर्क जेनेरेट गर्छ ।
पावरको हिसावले टीभीएस अपाचे अगाडि देखिन्छ । तर, यी दुबै मोटरसाइकलमा गियरबक्स भने समान ५ स्पीड रहेको छ ।
सस्पेन्सन ब्रेक
यी दुबै मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक फर्क सस्पेन्सन छ । अपाचे RTR 160 4v को रियरमा मोनोसक र एन १६० को रियरमा मल्टि स्टेप एड्जस्टेवल नाइट्रोक्स मोनोसक रहेको छ ।
दुबै मोटरसाइकलमा ट्युवलेस टायर ड्युल डिस्क ब्रेक र अलोय ह्वील पाउन सकिन्छ । N160 मा भने डुवल च्यानल एबीएस छ । अपाचे RTR 160 4v भने सिंगल च्यानल एबीएसमा उपलब्ध हुनेछ ।
फिचर
यी दुबै मोटरसाइकल एग्रेसिभ स्पोर्ट नेकेड डिजाइनमा तयार भएका हुन् । दुबैमा पुरा एलइडी लाइट, डिआरएल, डिजिटल कन्सोल र मिटर पाउन सकिन्छ ।
चंकी इन्जिन काउल, इन्फिनिटी एनालग, सिंगल पीस हेन्डलबार, प्रोजेक्टर हेड्ल्याम्प रहेको बजाज N160 मा स्प्लीट सीट, अन्डरबेली एग्जस्ट, स्लीपर क्लच र स्टाइलिस ग्रयावरेल जस्ता फिचरहरु छन् ।

त्यसैगरी, तीन राइडिंग मोड अप्सनमा नेपाल आउने अपाचे RTR 160 4v स्पेशल एडिशनमा स्प्लीट सीट, वेट मल्टिप्लेट क्लच, गियर सिफ्ट इन्डिकेटर, टीभीएस स्मार्ट कनेक्ट फिचर पाउन सकिन्छ ।
यसमा पोजीसन ल्याम्प, टाइम, लो ब्याट्री अलर्ट इन्डिकेटर, एड्जस्टेवल ब्रेक, क्लच लिवर, रेस ट्युन इन्जेक्सन, ग्लाइड थ्रोट टेक्नोलोजी जस्ता फिचरहरु पनि छन् ।
मूल्य
नेपालका लागि बजाजको आधिकारीक बिक्रेता रहेको एचएच बजाजले N160 मोटरसाइकलको मूल्य ३ लाख ९३ हजार ९०० रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ ।
छिट्टै नेपालमा बिक्री सुरु हुने टीभीएस अपाचे RTR 160 4v स्पेशल एडिशनको मूल्य भने कम्पनीले अहिलेसम्म सार्बजनिक गराएको छैन । यद्यपि यसको मूल्यपनि N160 बराबर नै हुने अनुमान गर्न सकिन्छ ।


