बीवाइडीको नयाँ रेकर्ड, एक महिनामै बेच्यो ३ लाख यूनिट

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले अक्टुबर महिनामा तीन लाख यूनिट बिक्री आँकडा भेट्टाएको छ । कम्पनीले बिक्रीमा रेकर्ड बनाउने क्रममा अक्टुबरमा ३ लाख १ हजार ८३३ यूनिट न्यू इनर्जी भेहिकल बिक्री गरेको हो ।

कम्पनी स्थापनापछि नै एकै महिनामा तीन लाख यूनिट बिक्री भेट्टाएको पहिलो पटक हो । बीवाइडीले अक्टुवरमा गरेको बिक्री अघिल्लो वर्षको सोहि महिनाको तुलनामा ३८.५७ प्रतिशतले बढाएको हो ।

अक्टोबर महिनामा कम्पनीले १ लाख ६५ हजार ५०५ यूनिट ब्याट्री इलेक्ट्रीक र १ लाख ३५ हजार ५९० यूनिट प्लगइन हाइब्रिड कार बिक्री गरेको हो ।

त्यस्तै एक महिनामा कम्पनीले ७३८ यूनिट इलेक्ट्रीक कमर्शियल भेहिकल बिक्री तथ्यांक सार्वजनिक गरेको हो । कम्पनीले अक्टोबर महिनामा निर्यात समेत बढाएको छ । उसले ३० हजार ५२१ यूनिट कार विदेशी बजारमा निर्यात गरेको हो ।

बीवाइडीले यो वर्ष ३० लाख गाडी बेच्ने लक्ष्य लिएको छ । कम्पनीले जनवरीदेखि अक्टोबरसम्मको १० महिनामा २३ लाख ८१ हजार ४७१ यूनिट भेहिकल बिक्री गरिसकेको छ । अबको बाँकी दुई महिनामा मासिक ३ लाख १० हजारको दरले बिक्री गरेमा लक्ष्य पनि भेट्टाउने देखिन्छ ।


Back_to_top