काठमाडौं । नेपाली नयाँ वर्षको अवसर पारेर दुई कम्पनीले मोटरसाइकल तथा स्कुटर सार्वजनिक गर्ने तयारी गरेका छन् । टीभीएसको रोनिन तथा यामाहाको एरोक्स १५५ सार्वजनिक गर्ने तयारी गरेका हुन् ।
यी दुवै कम्पनीले प्रिमियम सेग्मेन्टमा मोटरसाइकल तथा स्कुटर सार्वजनिक गर्ने भएका हुन् । टीभीएस रोनिन स्क्रयाम्बलर डिजाइनको मोटरसाइकल हो भने यामाहा एरोक्स १५५ म्याक्सी डिजाइनको स्कुटर हो ।
यामाहाले एरोक्स नेपालभर रहेको यामाहाको डिलर नेटवर्क पुगिसकेको छ भने टीभीएस रोनिनको परीक्षण भइरहेको छ । यामाहा एरोक्सको आधिकारिक रूपमा विक्री सुरू गरेको छैन भने यसलाई नयाँ वर्षदेखि विक्री सुरू गर्ने अनुमान गरिएको छ ।
यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी एमएडब्ल्यू इन्टरप्राइजेजले ४ लाख ७५ हजार रुपैयाँ मूल्य निर्धारण गरेर विक्री सुरू गर्नेछ ।
टीभीएसको पहिलो स्क्रयाम्बलर मोटरसाइकल परीक्षणको क्रममा रहेको छ भने नयाँ वर्षको अवशर पारेर विक्री सुरू गर्ने अनुमान गरिएको छ ।
टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ५ लाख हाराहारी मूल्य राखेर टीभीएस रोनिनको विक्री सुरू गर्ने अनुमान गरिएको छ । कम्पनीले सिंगल च्यानल एबीएस तथा डबल च्यानल एबीएस दुवै मोडलको परीक्षण गरिरहेको छ ।

