काठमाडौं । कम मूल्यमा ठूलो कार खोज्नेको माग सम्बोधन गर्न दुई नयाँ मोडल नेपाल आउने भएको छ । बस फोर मिटर सेग्मेन्टमा तयार भएको टाटाको चर्चित माइक्रो एसयूभी पन्च र त्यही सेग्मेन्टमा सिट्रोनले भारतमा उत्पादन गरेको सीथ्री नेपाल आउने भएको हो ।
सिट्रोन सीथ्री यही अप्रिल महिनाबाटै नेपालमा विक्री सुरु गर्ने तयारी भइरहेको छ । गोल्छा अर्गनाइजेशन अन्तर्गतको साँग्रिला मोटर्सले नेपालमा विक्री गर्दै आएको सिट्रोनका उत्पादन यूरोपमा निकै चर्चित रहेका छन् ।
त्यसैगरी टाटाले उत्पादन गरेको इन्ट्री लेभल एसयूभी पन्च भारतमा निकै सफल मोडल हो । बजारमा आएदेखि नै औषतमा मासिक १० हजार यूनिट विक्री हुँदै आएको पन्च सुरक्षाको कारणले पनि चर्चा रहेको मोडल हो । यसले ग्लोवल एनक्यापमा क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको छ ।
टाटा पन्च
टाटाले पन्चलाई माइक्रो एसयूभी सेग्मेन्टमा ल्याएपनि डिजाइन, भेरियन्ट, पर्फमेन्स, स्पेशियस क्यावीन र पूर्ण सुरक्षीत मोडल भएको कारण यसले भारतीय बजारमा निकै राम्रो विक्री संख्यामा पाइरहेको छ ।
यसमा १.२ लिटर थ्रि सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८६ बीएच पावर र ११३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्स उपलब्ध हुनेछ । यसमा १८७ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।
टाटा पन्चको डोर ह्याण्डल पिलरमा दिइएको छ । निकै बाक्लो बडी क्लाडिङ, स्क्वायर अफ ह्वील आर्क, एलइडी टेलल्याम्प, हर्मनको ७ इन्च इन्फोटेन्टमेन्ट सिस्टम, ९० डिग्रीमा खुल्ने ढोका दिइएको छ ।

त्यसैगरी, १६ इन्चको डायमन्ड कट अलोय ह्वील, अटोमेटीक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर, रिभर्स क्यामेरा र सेन्सर, पुस बटम स्टार्टरस्टप बटम, दुई एयरव्याग, एबीएस, इबीडी, ब्रेक एसवे कन्ट्रोल, इएससी, कुल्ड ग्लोबबक्स, क्रुज कन्ट्रोल, अटो फोल्डिङ ओआरभीएम, लेदर र्याप स्टेरिङ ह्वील जस्ता फिचर पाउन सकिन्छ ।
नेपाली बजारमा पन्चको सुरुवाती भेरियन्टको मूल्य ३० लाख रुपैयाँ हाराहारीबाट सुरु हुने अनुमान गर्न सकिन्छ ।
सिट्रोन सीथ्री
अघिल्लो वर्ष नै नेपाल आउने तयारी भएको सीथ्री नेपाल सरकारले लगाएको आयात प्रतिबन्धको कारण नेपाल आउन पाएको थिएन ।
सिट्रोनले आफ्नो सब फोर मिटर कारलाई १.२ लिटर नेचुरल्ली एस्पीरेडेड इन्जिन र १.२ लिटर टर्बो इन्जिनमा ल्याएको छ । टर्बो इन्जिनमा एउटा मात्रै ‘फिल ड्यूलटोन भाइब’ भेरियन्ट रहेको छ ।
सिट्रोनले दिएको १.२ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिनले अधिकतम ८२ एचपी पावर र ११५ एनएम टर्क प्रदान गर्छ । त्यसैगरी १.२ लिटर टर्बो इन्जिनले ११० एचपी पावर र १९० एनएम टर्क प्रदान गर्नेछ । नेचुरल इन्जिनमा ५ स्पीड र टर्बो इन्जिनमा ६ स्पीड गियरबक्स पाउन सकिन्छ ।

धेरै हदसम्म सिट्रोन सी फाइभबाट प्रेरित डिजाइन र फिचर यसमा पाउन सकिन्छ । स्प्लीट हेडल्याम्प क्लष्टर, हेग्जागोनल एयर इन्टेक, विभिन्न स्थानमा दिइएको कलर इन्सर्ट, कालो कलरमा बडी क्ल्याडिङ, विभिन्न ६ कलर अप्सन, भेरियन्ट अनुसार १५ इन्चको स्टील र अलोय ह्वील यसमा पाउन सकिन्छ ।
सीथ्रीको क्याविनमा १० इन्चको ठूलो इनफोटेन्टमेन्ट सिस्टम, अल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, म्यानुयल एसी, ४ वटा स्पीकर, यूएसबी चार्जिङ पोर्ट, दुई एयरब्याग, रिभर्स पार्किङ सेन्सर, सिट वेल्ट रिमाइन्डर जस्ता फिचर स्टायडर्ड रुपमा आउने छन् ।
यसको मूल्य पनि ३० लाख हाराहरीबाट सुरु हुने अनुमान गरिएको छ ।

