काठमाडौं । अमेरिकी न्यू इनर्जी भेहिकल निर्माता टेस्लाले कारको मूल्यमा ब्यापक कटौती गरेर प्रतिस्पर्धीलाई कडा टक्कर दिने रणनीति अख्तियार गरेको छ । कम्पनीले ४ महिनाको बीचमा दोस्रो पटक मूल्य घटाएको हो ।
टेस्लाले जनवरीमा मात्रै ७ हजार डलरसम्मले मूल्य कटौती गरेकोमा अप्रिल २०२३ लागेसँगै १ हजार डलरले मूल्य घटाएको छ । कम्पनीले आफ्नो इन्ट्री लेभल मोडल थ्रीको मूल्य १ हजार डलरले घटाएको हो । ईभी उत्पादनमा कडा प्रतिस्पर्धा चलिरहेको समयमा टेस्लाले लिएको राणनीतिले अन्य निर्मातालाई भने अन्योलमा पारेको छ ।
कम्पनीले मोडल एसमा ५ हजार र मोडल एक्सको मूल्य १० हजार डलरले घटाएको हो । मूल्य घटाएसँगै टेस्लाका सम्पूर्ण मोडलको मूल्य ९० हजार डलरभन्दा तल आएको छ । यसअघि टप मोडलको मूल्य ९६ हजार डलरसम्म थियो ।
टेस्लाका सीईओ इलन मस्कले यो वर्ष टेस्ला कारको विक्री ४० प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएका छन् । कम्पनीले जनवरीदेखि मार्चसम्मको एक क्वाटरमा विश्वभर ४ लाख २२ हजार ८७५ यूनिट कार विक्री गरेको तथ्यांक सार्वजनिक गरेको छ । त्यसमध्ये अमेरिकी बजारमा १ लाख ८० हजार ९९३ यूनिट विक्री भएको हो ।
बढ्दो विद्युतीय कारको माग पुरा गर्न टेस्लाले मेक्सीकोमा नयाँ गिगा प्लान्ट स्थापना गरिरहेको छ । उक्त प्लान्ट संचालनमा आएसँगै टेस्लाले वार्षिक ४० लाख यूनिट कार उत्पादन गर्न सक्ने जडित क्षमता पुग्ने बताइएको छ । बढ्दो उत्पादन क्षमतासँगै टेस्लाले आक्रमक बजार विस्तार गर्ने योजना बनाइरहेको छ ।
यसअघि टेस्लाले मूल्य कटौती गरेसँगै विश्वका ठूला उत्पादकहरु टोयोटा, निसान, फक्सवागेन ग्रुप लगायत अन्य थुप्रै ईभी निर्माताले मूल्य कटौती गरेका थिए । टेस्लाको नयाँ मूल्य कटौतीले कसकसलाई अफ्ठ्यारोमा पार्छ, त्यो हेर्न भने बाँकी नै छ ।
अरेटी इन्टरनेशनल प्रालिले नेपालमा पनि टेस्लाका कार ल्याएर विक्री वितरण गर्दै आएको छ । कम्पनीको मूल्य घटाउने प्रतिस्पर्धाले यहाँ पनि टेस्ला किन्न चाहने ग्राहकलाई राम्रै फाइदा पुग्ने देखिन्छ ।

