टीभीएसको मेकानिक्स तालिम सम्पन्न

काठमाडौं । नेपालका लागि टीभीएस टू ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले देशभर प्रत्येक घरमा टीभीएस बाईक तथा स्कूटरलाई स्थान दिलाउन एक घर एक टीभीएस अभियान सञ्चालन गरेको थियो । सो अभियान अन्तर्गत नाटुको (नेपाल अटो मेकानिक्स ट्रेड युनियन) सहकार्यमा बीमा तथा तालिम कार्यक्रम आयोजना गरेको छ । 

कार्यक्रममा जगदम्बा मोटर्सका उपाध्यक्ष दिपककुमार अग्रवाल, नाटुका अध्यक्ष जीवन अधिकारी, टीभीएसको सर्भिस हेड अमरदीप मजुमदरलागायतको उपस्थिति थियो । नाटु र जगदम्बामोटर्सको तर्फबाट संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरिएको थियो । 

उक्त कार्यक्रममा टीभीएसको तर्फबाट नाटु जीवन बीमा कोषको लागि ५१ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरिने घोषणा भएको छ । यसका अलावा नाटु मार्फत बिक्री भएका प्रत्येक बाइक तथा स्कूटरबाट २ सय रुपैयाँ उक्त कोषको लागि छुट्याइने जानकारी पनि गराइएको थियो ।

टीभीएसले नाटुसँगको सहकार्यलाई निरन्तरता दिने दिपककुमार अग्रवालले बताए । प्रविधिले धेरै फड्को मारेको अवस्थामा नयाँ टेक्नोलोजी बारे मेकानिक्सहरुलाई तालिम दिनु आवश्यक भएको उनको भनाई छ । 

‘हामीले दस हजार भन्दा बढी मेकानिक्सहरुलाई तालिम प्रदान गरिसकेका छौं,’ अग्रवालले भने । मोटरसाइकल, स्कुटर र तिनपांग्रे सवारी साधनमा अहिलेको समयमा चाहिने नयाँ विषेशताहरु समावेश गरेको उनले बताए ।

‘हामीले ग्राहकवर्गहरुलाई निरन्तर गुणस्तरीय सेवा दिने कुरामा कुनै पनि सम्झौंता गरेका छैनौं,’ अग्रवालले भने, ‘हामीले एक घर एक रोजगारको पनि अवधारणा निर्माण गरिरहेका छौ । हामीले सधै अटोमोबाइलको क्षेत्रमा काम गरेका अनुभवी व्यक्तिहरुलाई नै आधिकारीक डिलर दिने गरेका छौं ।’ 

टीभीएसले १०० भन्दा बढी डिलर नेटवर्क र २ सय भन्दा बढी सर्भिस नेटवर्क मार्फत गुणस्तर सेवा, जेनुईन पार्टस र ल्युबको उपलब्धतालाई सरल र व्यापक बनाएको छ । कार्यक्रममा यस अभियानका ब्रान्ड एम्बेस्डरका रुपमा माधव पाण्डेलाई घोषणा गरिएको थियो । 

योसँगै अघि बढेको थुप्रै अभियानमा तालिम तथा बीमा कार्यक्रम ६७ स्थानहरुमा ३ हजार मेकानिकलाई दिने प्रतिबद्धता कम्पनीले गरेको छ ।


Back_to_top