काठमाडौं । सन् २०२२ मा ५ नयाँ एसयूभी बजारमा आउने भएको छ । आउँदै गरेको ५ नयाँ एसयूभीमा सबैभन्दा धेरै तीन मोडल मारुती सुजुकीले ल्याउने छ भने महिन्द्रा र जीपले एक एक मोडल ल्याउने छन् ।
भारतमा टोयोटासँग साझेदारी गरेर गाडी उत्पादनमा जुटेको मारुती सुजुकी र टोयोटाले ब्रेजाको नयाँ जेनेरेशन मोडलको अलावा दुई अन्य नयाँ एसयूभी बजारमा ल्याउने तयारी गरिरहेको छ ।
मारुती सुजुकीले नयाँ जेनेरेशन ब्रेजालाई सन् २०२२ को पहिलो क्वाटरमा बजारमा उतार्ने तयारी गरेको छ । ब्रेजासँगै टोयोटा अर्वान क्रुजरको पनि नयाँ जेनेरेशन मोडल बजारमा आउने छ । कम्पनीले यसको डिजाइन लगायतका विषयमा परिवर्तन गरेपनि अहिलेकै १.५ लिटर पेट्रोल इन्जिनलाई भने निरन्तरता दिने छ ।

महिन्द्राको चर्चित एसयूभी स्कर्पियोको नयाँ जेनेरेशन मोडल पनि २०२२ को पहिलो क्वाटरमा नै बजारमा आउने छ । कम्पनीले यसमा व्यापक परिमार्जन गरेको यसअघि परिक्षणको क्रममा देखिएको गाडीबाटै अनुमान लगाउन सकिन्छ । कम्पनीले स्कर्पियोमा पहिलो पटक २.० लिटर टर्बो पेट्रोल र २.२ लिटर टर्बो डिजेल इन्जिन प्रदान गर्ने जनाएको छ । नयाँ जेनेरेशन स्कर्पियो नयाँ प्लेटफर्म बडी अन फ्रेममा आधारित रहने छ ।
मारुती सुजुकीले वाईटीभी कोड नेममा उत्पादन गरिरहेको क्रसओभर एसयूभी पनि सन् २०२२ मा नै बजारमा आउने छ । कम्पनीले विशेषत म्याग्नाइट, काइगर र टाटा पन्च जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेगरी यसलाई बजारमा ल्याउन लागेको हो ।
जीपले भारतमा ७ सिट क्षमताको मेरिडियन एसयूभी बजारमा ल्याउने तयारी गरेको छ । सन् २०२२ को मध्येसम्ममा बजारमा आउने मेरिडियनमा २.० लिटर डिजेल हाइब्रिड इन्जिन रहने अनुमान गरिएको छ ।

मारुती र टोयोटाको संयुक्त डिजाइनमा उत्पादन हुन लागेको मिडसाइज एसयूभी पनि २०२२ को अन्त्यसम्ममा बजारमा आउने बताइएको छ । टोयोटाको भारतीय प्लान्टमा उत्पादन हुने यो एसयूभीमा लाग्ने पाट्र्सहरु मारुती सुजुकीले उत्पादन गर्ने रिपोर्टहरुमा उल्लेख छ ।


