धेरै मानिसले कुरेर बसेका ४ एसयूभी, चाँडै बजारमा आउने

काठमाडौं । बजारमा आउने क्रममा रहेका केही एसयूभी निकै पहिलेदेखि चर्चामा रहेका छन् । कोभिड १९ को संक्रमण फैलिएसँगै सबै ब्राण्डले आफ्नो नयाँ मोडलको उत्पादनलाई सुस्त बनाएको कारण चर्चामा रहेर पनि धेरै मोडल बजारमा आउन सकेका छैनन् ।

अहिले भारतमा उत्पादनको क्रममा रहेका केही एसयूभी बजारमा आउनु अघिनै निकै धेरै चर्चा बटुल्न सफल भएका छन् । यसरी चर्चा बटुल्नेमा यूरोपियन, कोरियन, जापानी र भारतीय ब्राण्डका गाडी रहेका छन् ।

चर्चामा रहेका अधिकांश मोडल यही सन् २०२२ को अन्त्यसम्म बजारमा आइसक्ने छन् । जसमध्य मुख्यत सिट्रोन, हुन्डाई, मारुती सुजुकी र महिन्द्राका गाडीको चर्चा धेरै रहेका छन् ।

१. सिट्रोन सी ३ः फ्रेन्च कार निर्मातले भारतमा उत्पादन गर्न लागेको पहिलो मोडल सि थ्री कम्प्याक्ट क्रसओभर मोडल हो । विशेषत कम मूल्यको बजारमा प्रतिस्पर्धा गर्न आउने सि थ्री आफ्नो लुक्सको कारण नै धेरै चर्चा बटुल्न सफल भएको छ ।

अबको दुई महिना भित्र भारतमा सार्वजनिक हुने यो क्रसओभरमा १.२ लिटर टर्बो पेट्रोल इन्जिन रहने छ । साथै, कम्पनीले यसमा थुप्रै सेग्मेन्ट लिडर फिचर दिएर ल्याउने छ ।

२. भेन्यू फेसलिफ्टः हुन्डाईले सन् २०१९ मा पहिलो पटक बजारमा ल्याएको भेन्यूको फेसलिफ्ट आउने तयारी भइरहेको छ । दक्षिण कोरियामा परिक्षण चलिरहेको भेन्यू आगामी चाडपर्वको सिजनमा बजारमा आउने अनुमान गरिएको छ । कम्पनीले थुप्रै कस्मेटीक परिमार्जन सहित ल्याउने भेन्यूमा इन्जिन भने परिवर्तन हुने छैन ।

३. नयाँ जेनेरेशन ब्रेजाः मारुती सुजुकीले सन् २०१६ देखि बजारमा विक्री गर्दै आएको ब्रेजाको दोस्रो जेनेरेशन बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले नयाँ ब्रेजाको बाहिरी डिजाइन र भित्री डिजाइनमा निकै परिवर्तन गर्ने अपेक्षा गरिएको छ ।

यसअघि कम्पनीले ४ वर्ष डिजेल इन्जिनमा ब्रेजा विक्री गरेको थियो भने सन् २०२० बाट पेट्रोल इन्जिनमा मात्रै विक्री गर्दै आएको छ । नयाँ जेनेरेशन मोडल पनि १.५ लिटर पेट्रोल इन्जिनमा नै आउने अनुमान गर्न सकिन्छ ।

४. नयाँ जेनेरेशन स्कर्पियोः नेपालकै सर्वाधिक सफल एसयूभी स्कर्पियोको नयाँ जेनेरेशन मोडल यही वर्ष बजारमा आउने छ । महिन्द्राले अघिल्लो वर्ष नै यसलाई बजारमा ल्याउने तयारी गरेको भएपनि विविध कारणले आउन सकेको थिएन । कम्पनीले नयाँ स्कर्पियोमा ब्यापक परिमार्जन गरेको तस्विरहरु यसअघि नै सार्वजनिक भएका छन् ।

महिन्द्राले पहिलो पटक स्कर्पियोलाई पेट्रोल इन्जिनमा पनि उपलब्ध गराउने छ । नयाँ स्कर्पियोमा २.० लिटर टर्बो पेट्रोल र २.० लिटर टर्बो डिजेल इन्जिन रहने अनुमान गर्न सकिन्छ ।


Back_to_top